वडाध्यक्ष गोहिबारको आरोप : “मेयर बिशेश्वर यादवको लापरबाहीले सडक जिर्ण, जनता हैरान”

वडाध्यक्ष गोहिबारको आरोप : “मेयर बिशेश्वर यादवको लापरबाहीले सडक जिर्ण, जनता हैरान”
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार २०:३१
वडाध्यक्ष गोहिबारको आरोप : “मेयर बिशेश्वर यादवको लापरबाहीले सडक जिर्ण, जनता हैरान”

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–४ बरेर्वादेखि वडा नम्बर ५ टरिया जाने मुख्य सडक मर्मतका लागि पटक–पटक आग्रह गर्दा पनि नगरपालिकाले जेसिबी नदिएपछि वडाध्यक्ष दीपक गोहिबार यादव आक्रोशित बनेका छन्।

मधेशपत्रसँग कुरा गर्दै कमला–४ का वडाध्यक्ष यादवले भने, “यो सडक कमला–४ र ५ दुवै वडाका बासिन्दाका लागि अत्यन्तै महत्वपूर्ण छ। सडक एकदमै नाजुक भइसकेको छ तर मेयरले जेसिबी पठाउन मानेका छैनन्। सडक बनेपछि सबैभन्दा धेरै फाइदा मेयरकै हुन्छ, उहाँकै घर पनि वडा ५ मा पर्छ। तर सुन्ने कोही छैन।”

ADVERTISEMENT

उनका अनुसार बरेर्वा–टरिया सडक बिग्रिएपछि अहिले कमला–५ का स्थानीयलाई करिब ३ किलोमिटर घुमेर सघारा चौक आउनुपर्ने बाध्यता छ। “मेयरको पूर्वाग्रही व्यवहारका कारण समन्वय नै अवरुद्ध भएको छ,” उनले आरोप लगाए।

यसअघि पनि सडक मर्मतका लागि आवश्यक सामग्री र मेसिन दिन पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको वडाध्यक्षको गुनासो छ।

स्थानीयबासी र सेवाग्राहीहरूले पनि वडाकार्यालय र नगरपालिकासँग तत्काल सडक मर्मत गरी यातायात सहज बनाउन माग गरेका छन्।

यता, कमला नगरपालिकाका मेयर बिशेश्वर प्रसाद यादवले सडकको वास्तविक अवस्था जाँच्ने जिम्मा इन्जिनियर अमित साहलाई दिइसकेको दाबी गरेका छन्। “टरिया लक्कर र बरेर्वा दुवै ठाउँमा सडक मर्मत गर्नुपर्नेछ भनेर भनेको छु। उहाँ (इन्जिनियर) आएर हेरेपछि काम सुरु हुन्छ,” मेयर यादवले भने।

उनले वडाध्यक्ष दीपक गोहिबार यादवले लिखितरूपमा माग नगरिएको बताए। “उहाँले मौखिक मात्रै भनेको छ। मैले लिखित दिन भनेको हुँ। उहाँ आफ्नो मात्र समस्या बुझ्छ, नगरपालिका भरिका समस्या पनि बुझ्नुपर्छ,” मेयर यादवको भनाइ ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार २०:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !