अवैध देहव्यापार आरोपमा धनुषाबाट ७ जनाको पक्राउ

अवैध देहव्यापार आरोपमा धनुषाबाट ७ जनाको पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार ०९:४६
अवैध देहव्यापार आरोपमा धनुषाबाट ७ जनाको पक्राउ

जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित दुई होटलमा अवैध देहव्यापार चलाइएको सूचनाका आधारमा प्रहरीको संयुक्त टोलीले छापा मार्दा ७ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले सोमबार साँझ करिब ६ बजे मानव होटल र गोदावरी होटलमा एकैसाथ छापा मारेको हो।

ADVERTISEMENT

छापाका क्रममा मानव होटलबाट तीन महिला, तीन पुरुष र होटल सञ्चालक राजेन्द्र महतो पक्राउ परेका छन्।
त्यस्तै, गोदावरी होटलबाट एक महिला र एक पुरुष पक्राउ परेका हुन्। ती पुरुष सिरहाको कर्जन्हा नगरपालिका–३, बन्दीपुर खैराटोलका मनोज कुमार महतो रहेको प्रहरीले जनाएको छ।

गोदावरी होटलका सञ्चालक विजय राउत भने फरार रहेका छन्।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ। फरार राउतको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय धनुषा, विशेषगरी ढल्केबर क्षेत्रका होटल तथा लजहरूमा अवैध देहव्यापार बढ्दै गएकाले निगरानी कडाइ गरिएको छ।

नेपालको प्रचलित कानुनअनुसार देहव्यापारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनु अपराध मानिन्छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४ बमोजिम जबरजस्ती वा प्रलोभन देखाएर यौन क्रियाकलापमा संग्लग्न गराउने, त्यसको सुविधा उपलब्ध गराउने वा संलग्न हुने कार्य दण्डनीय छ। यसमा दोषी ठहरिएका व्यक्तिलाई एक वर्षदेखि दस वर्षसम्म कैद सजाय र जरिवाना समेतको व्यवस्था छ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ०९:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !