गौर हत्याकाण्डमा उपेन्द्र यादवमाथि अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

गौर हत्याकाण्डमा उपेन्द्र यादवमाथि अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २, सोमबार १७:४९
गौर हत्याकाण्डमा उपेन्द्र यादवमाथि अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

रौतहट : सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमवार जिल्ला प्रहरी कार्यालय रौतहटलाई गौर घटनामा यादवमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको हो।

ADVERTISEMENT

राज्यले वर्षौँ बितिसक्दा पनि दोषीमाथि अनुसन्धान नगरेको भन्दै पीडित परिवारका तर्फबाट त्रिभुवन साहले गत २०८० जेठ २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले १९ वर्षपछि यादवमाथि अनुसन्धानका लागि बाटो खोलेको हो।

रिटमा जिल्ला प्रहरी कार्यालय रौतहट गौर र जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौरलाई विपक्षी बनाइएको थियो।

२०६३ साल चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिल चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा (माओवादी) ले एउटै स्थानमा सभा गर्न लाग्दा झडप भएको थियो। झडपमा परी २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए।

त्यस समय यादव मधेशी जनअधिकार फोरमका अध्यक्ष थिए। उक्त घटना पूर्वनियोजित र संगठित रहेको ठहर राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान प्रतिवेदनमा भएको थियो।

पीडित पक्षले घटनाको प्रमुख योजनाकारको रुपमा यादवविरुद्ध पनि कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएका छन्। सर्वोच्चको आदेशसँगै अब प्रहरीले यादवविरुद्ध अनुसन्धान अघि बढाउनेछ।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार १७:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !