जनकपुरधामको कृष्ण मन्दिरमा ताल्चा, श्रद्धालु दर्शन विना फर्किए

जनकपुरधामको कृष्ण मन्दिरमा ताल्चा, श्रद्धालु दर्शन विना फर्किए
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १, आईतवार २३:०४
जनकपुरधामको कृष्ण मन्दिरमा ताल्चा, श्रद्धालु दर्शन विना फर्किए

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको ऐतिहासिक कृष्ण मन्दिरमा ताल्चा लगाइएपछि श्रद्धालुहरू भगवान् कृष्णको दर्शन नै गर्न नसकी निराश हुँदै बाहिरिन बाध्य भएका छन्।

कृष्ण जन्माष्टमीको अवसरमा आइतबार मन्दिर परिसरमा प्रत्येक वर्षझैँ मेला लागेको थियो। तर गोपाल सेवा समिति धनुषाले मन्दिरको मुख्य गेटमा ताल्चा लगाएपछि टाढाबाट दर्शन गर्न आएका भक्तजन बीचै बाटोबाटै फर्कनुपरेको हो।

ADVERTISEMENT

‘दर्शन गर्न नहुने भए किन मेला नै लगाउने ?’ लोहनाबाट आएका एक भक्तजनले गुनासो गरे, ‘पहिले नै जानकारी दिएको भए हमी यत्रो टाढाबाट आउँदैनथ्यौँ।’

कृष्ण जन्माष्टमीको मुख्य दिनमै भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइनु सम्बन्धित समितिको व्यवस्थापकीय लापरबाही भएको भन्दै स्थानीयवासीले आलोचना गरेका छन्। मेला भने यथावत् सञ्चालन भए पनि दर्शन गर्न नपाउँदा धार्मिक भावनामा चोट पुगेको उनीहरूको भनाइ छ।

यता, गोपाल सेवा समिति धनुषाका अध्यक्ष अंकेश्वर यादवले सुरक्षाकर्मीको निर्देशनमा राति १० बज्नुअघि नै मन्दिरको मुख्य गेटमा ताल्चा लगाइएको जानकारी दिए।

श्रद्धालुहरूले भने मन्दिर तथा गोपाल सेवा समितिलाई समयमै सूचना नदिएको र व्यवस्थापन कमजोर भएको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार २३:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !