क्रान्तिमै सकियो सिंगो परिवार

क्रान्तिमै सकियो सिंगो परिवार
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १, आईतवार १७:४४
क्रान्तिमै सकियो सिंगो परिवार

बोधमाया  यादव

रामवृक्ष यादवको जन्म तत्कालीन जनकपुर अञ्चल धनुषा जिल्लाको बरमझिया गाउँमा वि.सं. २००३ सालमा भएको हो । यो अहिले मधेश प्रदेशको धनुषा जिल्लास्थित गणेशमान चारनाथ नगरपालिकामा पर्छ ।

आमा सम्पैत  देवी र बुवा रामलखन यादवको कोखबाट जन्मिनु भएका थिए रामवृक्ष यादव । उहाँको आमाबुवा किसान हुनुहुन्थयो । रामवृक्ष यादवले २०२२ सालमा एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । विरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेर आफ्नै गाउँमा रहेको प्राथमिक तहको विद्यालयमा प्रधानाध्यापक भई जागिर सुरु गर्नुभयो । २०२२ सालमा नै उहाँको रामकुमारी यादवसँग विवाह भयो ।

ADVERTISEMENT

घर परिवार र विद्यालय हुँदै राजनीतिमा प्रवेश गर्नुभएका उहाँ वि.सं. २०२९ सालमा नेकपा (चौथो मसाल)को सम्पर्कमा पुग्नुभयो । २०३० सालमा मजदुर आन्दोलनमा सक्रिय भूमिका खेल्दै सिरहा, धनुषा, सर्लाही, महोत्तरीलगायत तराईका विभिन्न जिल्लामा सक्रियताका साथ राजनीति गर्नुभयो । उहाँको यस्तो सक्रिय भूमिकाले शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै तत्कालीन राज्यले उहाँलाई जेल सजाय दियो ।

रामवृक्ष यादवका कारण बरमझिया गाउँमा सम्पूर्ण नागरिक तत्कालीन प्रशासनबाट पीडित थिए । २०३० कार्तिकमा जेलमुक्त भएपछि नेकपा चौथो मसालले उहाँको कामबाट प्रभावित भएर २०३१ सालमा पार्टीको सक्रिय सदस्यता दियो । तत्कालीन सरकारले कम्युनिष्ट पार्टीसँगको संलग्नता थाहा पाएपछि उहाँलाई जागिरबाट निष्कासन गरिदियो । २०३५ माघमा बरमझियामा सामन्त र मजदुरबीच आन्दोलन हुँदा पुनः पक्राउ परे पनि जनताले पुलिसबाट जबरजस्ती फुत्काएका थिए ।

पछि फेरी २०३५ साल कार्तिकमा सिन्धुलीको रघुनाथ कोइराला हत्याकाण्डमा तत्कालीन सरकारको मिलोमतोमा जबरजस्ती फसाइयो । राजनीतिक पृष्ठभूमिका आधारमा राजकाज अपराध अन्तर्गत २०३५ पुस १ देखि २०३७ वैशाख ५ गतेसम्म जेल हालियो । पछि राजबन्दी रिहाइमा छुट्नुभयो । बहुदलको हार र निर्दलको जितपछि उहाँको घर तोडफोड भयो । उहाँको लाखौं सम्पत्ति लुटियो । त्यस लुटपाटमा शोभित यादव, सन्तोषी यादव, विसुनदेव यादवलगायतको सम्पत्ति लुटिएको थियो । त्यसपछि रामवृक्ष यादव भूमिगत हुन बाध्य हुनुपरेको थियो ।

२०३९/४० सालतिर जुडीको ज्यान मार्ने मुद्दामा षड्यन्त्रपूर्ण ढंगले तत्कालीन प्रशासनले उहाँलाई फेरी फसाइयो । २०४० सालमा विष खाएर गाउँमा एक व्यक्ति मर्दा त्यसमा पनि तत्कालीन प्रशासनले उहाँलाई नै फसाएको थियो । प्रशासनले उहाँको खुट्टा समेत भाचिदिएको थियो । उहाँको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको थियो । त्यहीबाट उपचाररत अवस्थाबाट जनता र पार्टीको सहयोगमा उम्किन सफल हुनुभएको थियो ।

२०४१ सालमा भएको पाँचौं महाधिवेशनपछि पार्टी विभाजन हुँदा उहाँ नेकपा (मशाल) को केन्द्रिय सदस्यको जिम्मेवारी पाउनुभयो । षड्यन्त्रपूर्ण ढंगले २०४५ साल जेठदेखि २०४८ सालसम्म कर्तव्य ज्यान मुद्दा अन्तर्गत जेलमा परेका थिए । वि.सं. २०५१ साल भाद्र १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई जनकपुरबाट सफल पारेर फर्किँदै थिए । सोही क्रममा २०५१ साल भाद्र २ गते तत्कालीन शाही सेना तथा प्रहरीले नेपाली कांग्रेसको इशारामा षड्यन्त्रपूर्वक हत्या ग¥यो ।

यसरी मारिए भाइ शेखर यादव

रामवृक्ष यादव र रामकुमारी यादवको कोखबाट २०३५ सालमा बरमझिया गाउँमा जन्मिएका शेखर यादवले २०५५ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । विद्यार्थी जीवनदेखि नै पिता जस्तै तिक्ष्ण बुद्धिका थिए । उनी पार्टी र क्रान्तिप्रति आफ्ना आमाबुवा जस्तै जिल्ला पार्टीमा देखापरेको पलायनको विरुद्ध कठोर संघर्ष चलाए । पार्टी र क्रान्ति छाडेर भाग्नेहरू विरुद्ध दृढतापूर्वक अभियान नै चलाएका थिए । उनी पिताको आदर्श विचारलाई शिरोधार्य गरी अघि बढेका थिए ।

उनी न्यायपूर्ण आन्दोलनमा क्रियाशील रहेका बखत २०५८ साल पुस १४ गते भारतको दरभंगाबाट उपचार गराएर जिल्ला फर्किने क्रममा पक्राउ परेका थिए । भारतको जयनगरबाट दिनको ११ बजे भारतीय र नेपाली प्रहरी टोलीद्वारा पक्राउ गरी जयनगरकै थानामा राति १२ बजेसम्म राखिएको थियो । त्यसपछि नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको इनर्वामा भारतीय पक्षले नेपाली पक्षको प्रहरीलाई सुपुर्दगी गरेको थियो । सुपुर्दगी गरिएका शेखर यादवलाई धनुषाको खजुरी थानामा दुई घण्टासम्म राख्यो । शेखर यादवलाई थुनुवाबाट निकालेर तत्कालीन नेपाली सेनाले रातिको २ः०० बजेतिर निर्ममतापूर्वक हत्या गरेको थियो ।

सिलिन्डर बिस्फोटनका सिकार भइन आमा रामकुमारी

रामकुमारी यादवले रामवृक्ष यादवलाई जीवनभर साथ र सहयोग दिनुभयो । उहाँ पञ्चायती तानाशाही व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरिरहने क्रममा पटकपटक गिरफ्तारीमा पर्नुहुन्थ्यो । हिरासतमा रहँदा उहाँले आफ्ना ४ वटी छोरीहरू बोधमाया, कल्याणी, सुधा, सुनिता र छोरा शेखर यादव तथा सासु सम्पैत देवी लगायतलाई हेरचाह गर्ने देखि लिएर स्थानीय स्तरका पार्टीको काममा लाग्नु भएको थियो । साथै जेलमा रहेका रामवृक्ष यादवलाई निरन्तर हौसला र प्रेरणा प्रदान गरिरहनु हुन्थ्यो ।

रामवृक्ष यादवलाई डकैत, ज्यान मार्ने र राजकाज अपराध मुद्दा लाग्दा पनि त्यसको वास्ता नै नगरी रामकुमारी यादवले आफ्नो पति रामवृक्ष यादवको आदर्श र निष्ठालाई कहिले पनि झुक्न दिनुभएन । घरमा अभाव, विपन्नता र समस्याहरु आउँदा समेत विचलित नभई असल आमाका रूपमा आफ्ना लालाबालाका हेरचाह गर्नुभयो । आफ्ना सन्तानलाई गरिबी र अभावसँग निरन्तर जुध्न सिकाइरहनु भयो ।

वि.सं. २०५१ साल भाद्र २ गते पति रामवृक्ष यादवको हत्या हुँदा उहाँ मुर्छित हुनुभयो । तर आफ्नो दुःख पीडालाई शक्तिमा रूपान्तरण गर्नुभयो । वि.सं. २०५८ पुष १४ गते एक मात्र छोरा शेखर यादवको हत्या भयो । निरन्तर हत्या र वेदनासँग जुध्दाजुध्दै उहाँले संघर्षलाई निरन्तरता दिइरहँदा रामकुमारीका देवरहरु रामसागर, हरि र राम जुलुमको पनि तत्कालिन शाही सेनाले हत्या ग¥यो । जनयुद्धमा समेत कटिबद्ध भएर लागेका रामवृक्ष यादवको परिवारले क्षति बेहोरेको थियो । जनयुद्धमा होमिदा विभिन्न अवरोध, आरोह र संघर्षहरूलाई अहिले उहाँका छोरीहरुले पछाइरहेकी छिन् ।

उहाँ त्याग, तपस्या, सरलता र सादगीको नमुना हुनुहुन्थ्यो । उहाँ अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य, संयुक्त जनमोर्चा नेपालको केन्द्रिय सदस्य, मधेसी राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय संयोजक, संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिका केन्द्रिय उपाध्यक्ष र एकीकृत नेकपा (माओवादी) को केन्द्रीय सल्लाहकार सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँ अन्तरिम संविधानसभा सदस्य र २०६४ को पहिलो संविधानसभाको चुनाव लडी धनुषा क्षेत्र नम्बर ६ बाट संविधानसभाको सदस्यमा प्रत्यक्षबाट निर्वाचित हुनुभएको थियो । २०६७ साल साउन २८ गते बिहान ३ बजे सिलिन्डरको ग्यास लिक भएपछि आगोले पोलेर घाइते हुनुभयो । उहाँलाई उपचारका लागि भारतको सफ्दरगञ्ज अस्पताल लगियो । २०६७ साल साउन २९ गते उहाँको सफ्दरगंज अस्पतालमा नै निधन भयो । तत्कालीन एकीकृत नेकपा माओवादीले रामकुमारी यादवलाई मरणोपरान्त सम्मान स्वरूप “मधेशकी माता” सम्मानले विभूषित गरेको थियो ।

जनयुद्धको आरम्भकालमा आन्तरिक तयारीमा रहेका मास्टर साहेब रामवृक्ष यादवलाई तत्कालीन नेपाली कांग्रेसको सरकारले हत्या ग¥यो । तर पनि उहाँहरु चुप लागेर बस्नुभएन । रामवृक्षका पूरा परिवारलाई वर्गीय संघर्षको चपेटामा पारे । तत्कालीन सरकार र शाही सेनाले रामवृक्षका भाइ, सन्तान र ज्वाई समेतको हत्या गरिदिए । यसरी एउटा सिंगो परिवार जनयुद्धमै समाहित भयो ।

अहिले पनि रामवृक्ष र रामकुमारीका छोरीहरू र छोरी–ज्वाइँंहरू लगायत नेकपा माओवादी केन्द्रमै सक्रियपूर्वक लागेका छन् । सानैदेखि देखेको र सिकेको कम्युनिष्ट राजनीतिकबाट प्रेरित भएर पनि होला आमाबुवाको सपना साकार पार्न निरन्तर पदचाप पछाइरहेकी छु । ३१ औँ रामवृक्ष स्मृति दिवसमा महान शहिद रामवृक्ष यादव प्रति हार्दिक श्रद्धाञ्जली अर्पण छ ।

(लेखक नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा शहीद रामवृक्ष रामकुमारी यादवकी ज्येष्ठ पुत्री हुन् ।)

प्रकाशित मिति: २०८२ भाद्र १, आईतवार १७:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !