कमलामा १४ वर्षमा पनि पुल बनेन, डुङ्गामै जीवन

कमलामा १४ वर्षमा पनि पुल बनेन, डुङ्गामै जीवन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २८, बुधबार १३:३३
कमलामा १४ वर्षमा पनि पुल बनेन, डुङ्गामै जीवन

सिरहा : सिरहा- धनुषा जोड्ने कमला नदीमा २०६८ सालमा सुरु गरिएको पक्की पुल निर्माण १४ वर्ष बितिसक्दा पनि अधुरै छ। तीन वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिएको पुल नबन्दा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अझै डुङ्गाकै भर पर्न बाध्य छन्।

सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाई–वस्तुलाई घाँसपातका लागि नदीपारि लैजान्छन्। वर्षायाम सुरु भएसँगै बढ्ने पानी र डुङ्गा चढ्ने डर दुवैसँग जुध्नु उनीहरूको दैनिकी बनेको छ। “पानी बढेपछि डुङ्गा चढ्न डर लाग्छ, तर विकल्प छैन,” यादवले भने।

ADVERTISEMENT

सामान्यतया वर्षायामबाहेक सानो काठको पुल प्रयोग हुने गरेकोमा हाल बर्खे बाढीले पुल बगाएपछि डुङ्गामात्र विकल्प बनेको छ। हुलाकी सडकमार्फत नदीपार गर्ने यात्रुले प्रतिमोटरसाइकल १०० रुपैयाँ र पैदल यात्रीले ५० रुपैयाँ भुक्तान गर्नुपर्ने बाध्यता छ।

स्थायी पुल नबन्दा स्वास्थ्य सेवामा समेत प्रत्यक्ष असर परेको छ। सिरहा अस्पतालबाट जनकपुर ‘रेफर’ गरिएका बिरामीलाई लामो र घुमाउरो बाटो हुँदै जानुपर्ने हुँदा ढिला भएर बाटैमा मृत्यु हुने जोखिम बढेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुनिलप्रसाद कुशवाहाले बताए। उनका अनुसार नदीपारिको धनुषा जिल्लाका बिरामीका लागि सिरहा बजार नजिक भए पनि पुल नहुँदा जनकपुर पुग्नुपर्ने बाध्यता छ।

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार पैदल यात्रीले अहिले बाँसको फड्के वा डुङ्गाको सहारामा नदी पार गर्नुपरेको छ। यस्तै, धनुषाको कमला नगरपालिका–४ का वडाध्यक्ष दिपक गोहिबार ‘पप्पु’ ले पुल नहुँदा स्थानीयले सामान्य कामका लागि समेत टाढाको जनकपुरधाम जानुपर्ने गुनासो गरे।

उनले भने, “हामीलाई जनकपुरधामभन्दा नजिक सिरहा बजार पर्छ, तर पुल नहुँदा जनकपुर जान बाध्य छौं। कमला नगरपालिका सबैभन्दा बढी मारमा परेको छ। संघीय सरकारका मन्त्रीहरू निरीक्षण गर्न आउँछन्, ठूला गफ गर्छन्, तर काठमाडौं पुगेपछि यो विषयमा कसैले चासो लिँदैन।”

प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार १३:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !