हनुमाननगर कंकालिनीका किसानलाई सिँचाइका लागि मोटर, विद्यार्थीलाई शुद्ध पानी

हनुमाननगर कंकालिनीका किसानलाई सिँचाइका लागि मोटर, विद्यार्थीलाई शुद्ध पानी
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २०, मंगलवार १६:३७
हनुमाननगर कंकालिनीका किसानलाई सिँचाइका लागि मोटर, विद्यार्थीलाई शुद्ध पानी

राजविराज : खडेरीको असर खेपिरहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका तीन वडाका कृषक समूहलाई सिंचाइका लागि मोटर र पाइप वितरण गरिएको छ।

संयुक्त राष्ट्रसंघीय संस्था फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (FAO) को सहयोगमा मंगलबार नगरपालिका–१, ३ र ७ नम्बर वडाका २० कृषक समूहभित्रका ४० जना किसानलाई मोटर तथा पाइप वितरण गरिएको हो।

ADVERTISEMENT

नगर प्रमुख विरेन्द्र माझीले मोटर हस्तान्तरण गर्दै खडेरीको समयमा किसानहरूलाई सिंचाइका लागि यस्तो सहयोग उपयोगी हुने बताए। “कृषकलाई सबल बनाउन यस्ता सहयोग आवश्यक छन्,” उनले भने, “मोटर पाएपछि किसानलाई सिँचाइ गर्न सहज हुनेछ।”

मोटर पाएपछि किसान महिला खुसी देखिएका थिए। खडेरीमा धानबाली मात्र नभई अन्य मौसमी बाली गर्न समेत सहज हुने उनीहरूको भनाइ छ।

दुई विद्यालयमा आरो उद्घाटन

त्यसैगरी मंगलबारै नगर प्रमुख माझीले दुई विद्यालयमा जडान गरिएको आरओ (रिभर्स अस्मोसिस) मेसिनको पनि उद्घाटन गरेका छन्।

नगरपालिका–१ स्थित विपी स्मारक माध्यमिक विद्यालय, भारदह र वडा नम्बर ३ मा रहेको कंकालिनी माध्यमिक विद्यालय, पोर्ताहामा आरओ जडान गरी सञ्चालनमा ल्याइएको हो।

शुद्ध पानीको पहुँच विद्यालयसम्म पुर्‍याउन गरिएको यो पहलले विद्यार्थीहरूको स्वास्थ्यमा सुधार ल्याउने विश्वास नगरप्रमुख माझीले व्यक्त गरे।

“कलबाट आइरन मिसिएको पानी आउने गरेको थियो, जसले विद्यार्थीको स्वास्थ्यमा असर गरिरहेको थियो,” उनले भने, “अब शुद्ध खानेपानी पिउन पाउनेछन्।”

प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलवार १६:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !