चुरेमा लालपुर्जा, तराई–मधेश पर्मानेन्ट मरुभूमि :नेता हृदयेश त्रिपाठी

चुरेमा लालपुर्जा, तराई–मधेश पर्मानेन्ट मरुभूमि :नेता हृदयेश त्रिपाठी
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २०, मंगलवार १३:५०
चुरेमा लालपुर्जा, तराई–मधेश पर्मानेन्ट मरुभूमि :नेता हृदयेश त्रिपाठी

काठमाडौं : जनता प्रगतिशील पार्टी (नेपाल) का अध्यक्ष हृदयेश त्रिपाठीले चुरे क्षेत्रमा लालपुर्जा वितरण गर्ने सरकारी प्रयासले तराई–मधेशलाई स्थायी मरुभूमिमा परिणत गर्ने चेतावनी दिएका छन्।

संघीय लोकतान्त्रिक मोर्चाले आइतबार काठमाडौंमा आयोजना गरेको जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले भूमि सम्बन्धी विधेयक पारित भएमा चुरे क्षेत्रको दोहन वैधानिक हुने बताए।

ADVERTISEMENT

“पञ्चायतकालदेखि चुरे दोहन गर्दै आएका करिब ४२ हजार परिवारले अब लालपुर्जा र स्वामित्व पाउने छन्,” त्रिपाठीले भने, “त्यसपछि तराई–मधेश पर्मानेन्ट मरुभूमि हुन्छ, त्यसलाई कसैले रोक्न सक्दैन।”

उनका अनुसार पञ्चायतकालपछि हालसम्म ३ लाख ४७ हजार मानिस चुरे मधेश क्षेत्रमा वन फडानी गर्दै बसोबास गरिरहेका छन्। उनले वन अतिक्रमणलाई संरक्षण दिने खालको भूमि विधेयक पारित भए मधेशको अस्तित्व नै सङ्कटमा पर्ने बताए।

महेन्द्र राजमार्ग निर्माणपछि तराई–मधेश झरेका मध्यपहाडी बासिन्दा अहिले पुनः फर्किसके पनि ओली सरकारको अध्यादेशपछि उनीहरू जंगल फडानीमा लागिरहेको त्रिपाठीको दाबी छ।

सरकारले ल्याएको भूमि ऐन संशोधन विधेयक सुकुम्बासी समस्याको समाधान नभई भू–माफियालाई फाइदा दिने उद्देश्यले ल्याइएको भन्दै चौतर्फी आलोचना भइरहेको उनले स्मरण गराए। उनले यो विधेयक संसद्मै पनि व्यापक विरोध भोगिरहेको बताए।

“वास्तविक सुकुम्बासीको समस्या समाधान गर्ने हैन, जंगल अतिक्रमण गरेर बसेकालाई लालपुर्जा दिने योजना हो यो,” उनले भने।

त्रिपाठीले देश चरम निराशाको अवस्थामा पुगेको र अर्थतन्त्र धराशायी हुँदै गएको टिप्पणी गरे। साथै तराई–मधेशमा खडेरी र सुख्खाको समस्या चुरे क्षेत्रको विनाश तथा वन अतिक्रमणकै परिणाम भएको जिकिर गरे।

“सरकार सच्चा कारण थाहा हुँदाहुँदै पनि समस्या समाधानतर्फ होइन, नक्कली उपाय र प्रचारमै लागिरहेको छ,” त्रिपाठीले आरोप लगाए। उनले वर्तमान सरकार जनताको समस्याभन्दा आत्मप्रचारमा केन्द्रित भएको भन्दै अबको वैकल्पिक मार्ग संघीय लोकतान्त्रिक मोर्चाले देखाउने बताए।

प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलवार १३:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !