पूर्वमन्त्री जेपी गुप्ताकै निवासमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले बढायो सुरक्षा सतर्कता

पूर्वमन्त्री जेपी गुप्ताकै निवासमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले बढायो सुरक्षा सतर्कता
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १९, सोमबार २३:२७
पूर्वमन्त्री जेपी गुप्ताकै निवासमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले बढायो सुरक्षा सतर्कता

राजविराज : पूर्व सञ्चारमन्त्री जयप्रकाश (जेपी) गुप्ताको सप्तरीस्थित निवासमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।

कञ्चनरुप नगरपालिका–१२, धरमपुरमा रेडियो जय मधेशसँगै रहेको आफ्नै निवास परिसरमा शुक्रबार राति अपरिचित व्यक्तिहरूले घुसपैठ गरेपछि पूर्वमन्त्री गुप्ताले सुरक्षा खतरा महसुस भएको बताएका छन्।

ADVERTISEMENT

गुप्ताका अनुसार राति करिब १०:०८ बजे ५–७ जनाको समूह कम्पाउन्डभित्र छिरेर झण्डै ३० मिनेटसम्म गतिविधि गरेको थियो। घटनाका बेला उनी घरमा थिएनन्। ‘उनीहरूले घरमा रहेका कर्मचारीलाई कसैलाई खबर नगर्न धम्की दिएका रहेछन्,’ उनले संचारकर्मीसँग भने, ‘कम्पाउन्डभित्र पसेर खोजतलासजस्तो गरे र पछि बाहिरिए।’

उनका अनुसार ती व्यक्तिहरू दुई समूहमा थिए। ‘कुल १०–१२ जनाको समूह थियो। केहीको हातमा घरेलु हतियार देखिएको थियो,’ गुप्ताले दाबी गरे। ती व्यक्तिहरू नेपाली र हिन्दी दुवै भाषामा संवाद गरिरहेको उनले सुनाए।

पूर्वमन्त्री गुप्ताले सोमबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा घटनासम्बन्धी लिखित उजुरी दिएका छन्। उनले सम्भावित आपराधिक योजनाको आशंका गरेका छन्।

घटनापछि सप्तरी प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम केसीले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गरेका छन्।

‘पूर्वमन्त्रीप्रति सम्भावित सुरक्षा खतरा देखिएको छ,’ एसपी केसीले भने, ‘त्यसअनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ। सप्तरी प्रहरी कुनै पनि आपराधिक गतिविधि हुन नदिन सतर्क छ।’

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको र निगरानी पनि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार २३:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !