मधेशमा स्वास्थ्य बीमा गर्नेको संख्या साढे ७ लाख नाघ्यो

मधेशमा स्वास्थ्य बीमा गर्नेको संख्या साढे ७ लाख नाघ्यो
राधेश्याम राउत राधेश्याम राउत २०८२ श्रावण १९, सोमबार १५:५२
मधेशमा स्वास्थ्य बीमा गर्नेको संख्या साढे ७ लाख नाघ्यो

जनकपुरधाम : मधेश प्रदेशमा स्वास्थ्य बीमामा आबद्ध हुनेको संख्या साढे ७ लाख नाघेको छ। स्वास्थ्य बीमा बोर्ड मधेश प्रदेशका संयोजक रामेन्द्रप्रसाद कुशवाहाका अनुसार हालसम्म प्रदेशका आठै जिल्लाबाट ७ लाख ७९ हजार २ सय ६५ जना स्वास्थ्य बीमामा आवद्ध भएका छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको कूल जनसंख्या ६१ लाख १४ हजार ६ सय रहेको छ। त्यसअनुसार स्वास्थ्य बीमामा आबद्ध हुनेको संख्या कूल जनसंख्याको झन्डै १३ प्रतिशत पुगेको हो।

ADVERTISEMENT

संयोजक कुशवाहाले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिए। उनका अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा सहिद परिवारलाई निःशुल्क बीमा गरिएको छ। गएको आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको ४० लाख रुपैयाँबाट केही सहिद परिवारलाई बीमामा आबद्ध गराइएको हो।

तर सबै सहिद परिवारको पहिचान नहुनु, ठेगाना यकिन नहुनु र कतिपय परिवार बसाइँसराइ गरेर अन्यत्र गएकाले सबैलाई समेट्न कठिनाइ भएको संयोजक कुशवाहाले बताए।

स्वास्थ्य बीमा बोर्डले हाल प्रदेशका आधारभूत अस्पतालहरूलाई बीमा सेवामा ल्याउने प्रयास गरिरहेको छ। साथै, क्यान्सर, मुटुरोग, डायलासिस, हेड इन्जुरी र स्पाइनल इन्जुरी जस्ता जटिल रोगका बिरामीका लागि प्रमाणको आधारमा बीमा सीमा थप १ लाख रुपैयाँले बढाइएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १५:५२
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !