जनकपुरधाममा पानीको समस्या र अत्यधिक गर्मी किन?

जनकपुरधाममा पानीको समस्या र अत्यधिक गर्मी किन?
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १५, बिहीबार ११:३३
जनकपुरधाममा पानीको समस्या र अत्यधिक गर्मी किन?

बीपी साह
जनकपुरधाम हाल पानीको अभाव र अत्यधिक गर्मीको समस्या झेलिरहेको छ। यसको कारण केवल भू-जल सतहको अत्यधिक ह्रास वा जलवायु परिवर्तन मात्र होइन, अन्य थुप्रै वातावरणीय र सामाजिक पक्षहरू पनि जिम्मेवार छन्।

एक समयको कुरा गर्दा, जनकपुरधाम वातावरणीय हिसाबले तुलनात्मक रूपमा सन्तुलित सहर मानिन्थ्यो। तर आज यो सहर वातावरणीय असन्तुलनको चपेटामा परेको छ। जनसंख्या वृद्धिको तीव्र गति, अव्यवस्थित वसोबास, र भूमाफियाको नियन्त्रणमा परेका सार्वजनिक स्थलहरूले यहाँको पारिस्थितिकी तन्त्रमा गम्भीर असर पारेका छन्। त्यसैको परिणामस्वरूप यहाँको तापमान अस्वाभाविक रूपमा बढ्दै गएको छ र भू-जल सतह क्रमशः घट्दै गएको छ।

ADVERTISEMENT

डा. हर्क गुरुङद्वारा लेखिएको पुस्तक “मैले देखेको नेपाल” को एक अध्यायमा कोदारीदेखि जनकपुरसम्मको यात्राको वर्णन छ, जसमा उनले जनकपुरधामका ऐतिहासिक पोखरी तथा कुण्डहरूको उल्लेख गरेका छन्। ती जलस्रोतहरू धार्मिक दृष्टिले मात्र होइन, भू-जल पुनःभरण (Water Recharge) का लागि पनि अत्यन्त महत्वपूर्ण थिए। ती संरचनाहरूको संरक्षण भएको भए, आज जनकपुरधाममा पानीको संकट यति गम्भीर नहुन सक्थ्यो।

दुर्भाग्यवश, तीमध्ये धेरै पोखरीहरू पूर्ण रूपमा मासिएर तिनको स्थानमा अब बस्ती बसिसकेको छ। ती बस्तीहरू हटाउनु वर्तमान अवस्थामा लगभग असम्भव देखिन्छ। त्यसैले यथार्थवादी समाधानका रूपमा बचेका ऐतिहासिक पोखरीहरूको संरक्षण गर्नु आवश्यक छ। साथै, जनकपुरधामका खाली सार्वजनिक जग्गा वा सामुदायिक क्षेत्रहरूमा नयाँ पोखरीहरू निर्माण गर्न सकिन्छ।

यी पोखरीहरूले वर्षा जल संकलन गर्ने माध्यम बन्न सक्नेछन्, जसले भू-जलको पुनःभरणमा सहयोग पुर्‍याउनेछ, तापक्रम घटाउनेछ, र जनकपुरधामको वातावरणीय सन्तुलन पुनः कायम गर्न मद्दत गर्नेछ।

जनकपुरधामको पानी र गर्मी समस्या समाधान गर्न दिगो र समावेशी दृष्टिकोण आवश्यक छ। योजनावद्ध विकास, ऐतिहासिक जलस्रोतहरूको संरक्षण, र वातावरणमैत्री पूर्वाधार निर्माणमार्फत मात्र यो सहरलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सकिन्छ।

लेखक: साह जनमत पार्टीका केन्द्रिय सचिव हुनुहुन्छ ।

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार ११:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !