विपद् संकटमा प्रभावकारी समन्वय गर्न मधेस सरकारको निर्देशन

विपद् संकटमा प्रभावकारी समन्वय गर्न मधेस सरकारको निर्देशन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १४, बुधबार १५:५७
विपद् संकटमा प्रभावकारी समन्वय गर्न मधेस सरकारको निर्देशन

जनकपुरधाम : प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बुधबार गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा सम्पन्न भएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको समितिको बैठक मन्त्रालयकै सभाहलमा बसेको हो।

बैठकमा संघीय सरकारबाट भइरहेका विपद् सम्बन्धी कामको प्रगतिमाथि समीक्षा गरिएको छ। साथै प्रदेश सरकारको आगामी कार्यदिशा तथा स्थानीय तहसँगको समन्वयमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको गृहमन्त्री लेखीले जानकारी दिए।

ADVERTISEMENT

बैठकले हालै गृह मन्त्रालयमार्फत खरिद गरिएका ८ वटा दमकलमध्ये ६ वटा दमकल स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। ती दमकलमार्फत स्थानीय तहबाटै संकटग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति सुनिश्चित गरिनेछ। बाँकी दुईवटा दमकल सप्तरी र पर्सामा खानेपानी आपूर्ति कार्यमा प्रयोग भइरहेका छन्, र त्यसलाई निरन्तरता दिने निर्णय गरिएको छ।

साथै, विपद् संकटग्रस्त क्षेत्रमा खानेपानी तथा सिँचाइको व्यवस्था गर्न संघीय सरकार र अन्य दातृ निकायबाट प्राप्त स्रोत साधनलाई प्रभावकारी रुपमा प्रयोग गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयलाई कार्यान्वयनमा लैजान अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

बैठकले विपद् प्रभावित क्षेत्रमा कार्य प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेशका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सबै सरोकारवाला निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ।

त्यसैगरी, नेपाली सेनाले शान्ति मिसनबाट प्राप्त १७ वटा पानी ट्यांकर र १ वटा बम डिस्पोजल गाडीलाई प्रचलित कानुनअनुसार अस्थायी दर्ता गराउन प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि समितिले गरेको छ।

गृहमन्त्री लेखीका अनुसार विपद् व्यवस्थापनलाई अझ सक्रिय, प्रभावकारी र दिगो बनाउन प्रदेश सरकारले आगामी दिनमा थप योजनाहरु कार्यान्वयनमा लैजानेछ।

प्रकाशित मिति: २०८२ श्रावण १४, बुधबार १५:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !