पूर्वाधार अभावमै थन्कियो जनकपुर नाइट क्याम्पस, मन्त्री आएपछि बल्ल आशा

पूर्वाधार अभावमै थन्कियो जनकपुर नाइट क्याम्पस, मन्त्री आएपछि बल्ल आशा
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १२, सोमबार ०९:५०
पूर्वाधार अभावमै थन्कियो जनकपुर नाइट क्याम्पस, मन्त्री आएपछि बल्ल आशा

जनकपुरधाम : एक समयको चर्चित शैक्षिक संस्था मानिएको जनकपुर नाइट क्याम्पस वर्षौँदेखि पूर्वाधार अभावका कारण बन्द अवस्थामा छ। आफ्नै नाममा जग्गा र भवन रहे पनि क्याम्पस सञ्चालनमा आउन सकेको छैन।

क्याम्पसका प्रमुखका अनुसार पटक–पटक क्याम्पस सञ्चालनका लागि प्रयास गरे पनि कुनै सरकार वा राजनीतिक दलबाट अपेक्षित सहयोग प्राप्त भएको छैन। उल्टै क्याम्पसको केही जग्गा छेउमै रहेका दुई पार्टीका कार्यालयले अतिक्रमण गरेको आरोप पनि छ।

ADVERTISEMENT

“वर्षौंदेखि क्याम्पस सञ्चालनको लागि लागिपरेको छु,” क्याम्पस प्रमुखले भने, “तर अहिलेसम्म कुनै पनि सरकार वा दलले गम्भीरताका साथ साथ दिइरहेका छैनन्।”

क्याम्पसको अवस्थाबारे जानकारी लिन विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य शशिकान्त मण्डल नेतृत्वको टोली पुगेको थियो। टोलीले अवलोकनपछि मधेस प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवलाई भेटी क्याम्पसको अवस्था बुझाएका थिए।

सोही अनुरूप मन्त्री यादव आइतबार क्याम्पस क्षेत्रको स्थलगत अवलोकनमा पुगेका थिए। अवलोकनपछि मन्त्री यादवले प्रदेश सरकारले क्याम्पस पुनः सञ्चालन र पूर्वाधार विकासमा विशेष पहल गर्ने बताए।

“शैक्षिक संस्था पुनः सञ्चालनमा ल्याउनु सरकारको जिम्मेवारी हो,” मन्त्री यादवले भने, “नाइट क्याम्पस सञ्चालनका लागि आवश्यक पहल सुरु हुन्छ।”

विद्यार्थी नेताहरूले तत्काल आवश्यक सामग्री र संरचना निर्माणका लागि सरकारलाई अनुरोध गरेका छन्।

क्याम्पस प्रमुखका अनुसार यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा लगायतका दलहरूसँग पनि पटक–पटक समन्वय गरिएको थियो, तर कसैले ठोस चासो नदेखाएको गुनासो छ।

जनकपुरजस्तो ऐतिहासिक सहरमा रहेको शैक्षिक संस्था लामो समयदेखि बन्द हुनु मधेस सरकार र सरोकारवाला पक्षहरूको उदासीनता हो भन्ने विद्यार्थी र स्थानीयको धारणा छ।

प्रकाशित मिति: २०८२ श्रावण १२, सोमबार ०९:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !