जनकपुरधाममा समाजवादी युवा संघको प्रदर्शन : “पानी दे, किसान बचा” भन्दै नारा

जनकपुरधाममा समाजवादी युवा संघको प्रदर्शन : “पानी दे, किसान बचा” भन्दै नारा
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ श्रावण ११, आईतवार १८:४८
जनकपुरधाममा समाजवादी युवा संघको प्रदर्शन : “पानी दे, किसान बचा” भन्दै नारा

जनकपुरधाम : मधेश प्रदेशमा परेको भीषण खडेरीका कारण खानेपानी र सिंचाइको चरम अभाव भइरहँदा प्रदेश सरकार मुकदर्शक बनेको भन्दै जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघले प्रदेश सरकारविरुद्ध जनकपुरधाममा प्रदर्शन गरेको छ।

आइतबार जनकपुरधामको जनकचोकबाट सुरु गरिएको विरोध ¥याली नगर परिक्रमा गर्दै प्रदेश सरकार र संघीय सरकार दुबैप्रति आक्रोश पोख्दै सम्पन्न भएको थियो। प्रदर्शनमा सहभागीहरुले “भ्रष्ट सरकार पानी दे”, “किसान मार्न पाइँदैन”, “चुरे दोहन बन्द गर”, “किसानविरोधी सरकार होसियार”, “निकम्मा सरकार मुर्दाबाद” जस्ता नारासहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

ADVERTISEMENT

संघले प्रदेश सरकारको लापरवाही र संघीय सरकारको उदासीनताको विरोधमा दुई स्थानमा छुट्टाछुट्टै ज्ञापनपत्र समेत बुझाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आठबुँदे ज्ञापनपत्र र धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरी अर्चायमार्फत संघीय सरकारलाई चारबुँदे ज्ञापनपत्र बुझाइएको संघका अध्यक्ष मदन साहले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारलाई बुझाइएको ज्ञापनपत्रमा भूमि सम्बन्धी नयाँ विधेयक खारेज वा संशोधन गर्नुपर्ने, मल र बीउको तत्काल व्यवस्था गर्नुपर्ने, दीर्घकालीन सिंचाइ तथा पानी व्यवस्थापनको योजना ल्याउनुपर्ने र किसानमैत्री कार्यक्रम ल्याउनुपर्ने मागहरू राखिएका छन्।

त्यस्तै, मुख्यमन्त्री कार्यालयमा बुझाइएको आठबुँदे ज्ञापनपत्रमा अवैध चुरे दोहन रोक्नुपर्ने, खानेपानी र सिंचाइका लागि तत्काल उपाय अपनाउनुपर्ने, मलखादको आपूर्ति सुनिश्चित गर्नुपर्ने, तथा प्रदेश सरकारले चालु आर्थिक वर्षमा ल्याएको दुई वटा रेडबुकको अनुसन्धान गर्नुपर्ने मागहरू उल्लेख गरिएको छ।

संघले मधेशका किसानहरू दिनप्रतिदिन संकटमा पर्दै गएको, तर सरकारले गम्भीरता नदेखाएको भन्दै तत्काल राहत प्याकेज घोषणा गर्न समेत आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ श्रावण ११, आईतवार १८:४८
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !