अंशाको सपना अधुरै रह्यो, ‘कलकतियावाली’ फिल्म साउन १० देखि हलमा

अंशाको सपना अधुरै रह्यो, ‘कलकतियावाली’ फिल्म साउन १० देखि हलमा
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ६, मंगलवार १८:४८
अंशाको सपना अधुरै रह्यो, ‘कलकतियावाली’ फिल्म साउन १० देखि हलमा

जनकपुरधाम : मैथिली भाषाको बहुप्रतीक्षित फिल्म कलकतियावाली साउन १० गतेदेखि सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ। नायिका अंशा सदा झाको असामयिक निधनपछि रोकिएको फिल्म अब उनलाई श्रद्धाञ्जली स्वरूप रिलिज गरिँदैछ।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक तथा कथाकार अरुण कुमार यादव ‘अरुण विजय’ ले सिरहाको कल्याणपुरबाट पहिलो चरणको प्रदर्शन सुरु गरिने जानकारी दिए। उनका अनुसार दोस्रो चरणमा जनकपुरधाममा र त्यसपछि भारतको मिथिला क्षेत्रका विभिन्न हलमा फिल्म प्रदर्शन गरिनेछ।

ADVERTISEMENT

‘अंशाको सपना थियो— आफ्नै अभिनय रहेको फिल्म हलमा हेर्ने,’ निर्देशक विजयले भावुक हुँदै भने, ‘त्यो सपना अधुरै रह्यो। तर, हामी उनलाई सम्झिँदै फिल्म तय गरिएका स्थानहरूमा रिलिज गर्दैछौं। मैथिली समाजलाई यो फिल्म हेरेर अंशालाई श्रद्धाञ्जली दिन आग्रह गर्दछु।’

सामाजिक कथा, स्थानीय सन्देश

कलकतियावाली सामाजिक कथावस्तुमा आधारित फिल्म हो। मैथिली समाजका विविध समस्या, भावना र यथार्थहरूलाई कथामा उतारिएको निर्देशकको दाबी छ।

फिल्ममा अभिनाश झा (कलकतियाबाली), श्याम कुमार राम (अठिवा), अंशा सदा झा (अंशा), इशिका भुजेल, रामनारायण ठाकुर र मनिषा सदा (मंशा) लगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा समावेश एउटा गीत यूट्युबमा सार्वजनिक भएसँगै लोकप्रिय भइसकेको छ।

निर्देशक विजयले लेखन, निर्देशन र निर्माण तीनवटै जिम्मेवारी एक्लै सम्हालेका छन्।

यूट्युबमा पनि आउने तयारी

फिल्म सिनेमा हलसम्म पुग्न नसक्ने दर्शकका लागि केही समयपछि यूट्युबमार्फत पनि सार्वजनिक गरिने निर्देशकको भनाइ छ।

नायिका अंशाको असामयिक निधनले मैथिली फिल्म उद्योगमा ठूलो क्षति पुगेको भन्दै निर्देशक, कलाकार र शुभेच्छुकहरूले फिल्मलाई श्रद्धाञ्जलीका रूपमा साथ दिन आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलवार १८:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !