नयाँ पुस्ता र मोबाइल: सुविधा कि समस्या?

नयाँ पुस्ता र मोबाइल: सुविधा कि समस्या?
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ४, आईतवार १९:२८
नयाँ पुस्ता र मोबाइल: सुविधा कि समस्या?

रूपक सिंह राजपूत
आजको डिजिटल युगमा मोबाइल फोन विद्यार्थीहरूको जीवनशैलीको अनिवार्य हिस्सा बनेको छ। अध्ययन सामग्री खोज्ने, जानकारी हासिल गर्ने, टाढाका साथीसँग सम्पर्क राख्ने जस्ता कामहरूमा यसको प्रयोगले ठूलो सहजता दिएको छ।

शिक्षाको पहुँचलाई व्यापक बनाउने र समयको सदुपयोगमा योगदान पुर्‍याउने माध्यमको रूपमा मोबाइलले नयाँ पुस्तालाई प्रविधिसँग जोड्ने अवसर दिएको छ। तर, यति धेरै सुविधा दिँदैमा यसको प्रयोग सधैं सकारात्मक नै हुन्छ भन्ने ग्यारेन्टी छैन। पछिल्ला केही वर्षमा मैले व्यक्तिगत रूपमा देख्दै र अनुभव गर्दै आएको छु कि मोबाइल फोनको अत्यधिक प्रयोग विशेषतः सामाजिक सञ्जालमा बिताउने समयका कारण विद्यार्थीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ।

ADVERTISEMENT

मोबाइलको लतका कारण विद्यार्थीहरूमा तनाव, चिन्ता र डिप्रेशनजस्ता समस्या बढिरहेका छन्। लगातार अनावश्यक सूचना प्रवाह र सामाजिक सञ्जालमा देखिने तुलनात्मक जीवनशैलीले आत्म-सम्मानमा गिरावट ल्याउँछ। अध्ययनमा ध्यान नजाने, एकाग्रता कम हुने र सामाजिक अलगाव अनुभव गर्ने अवस्था सिर्जना भइरहेको देखिन्छ। यस्ता मानसिक समस्याहरूले शैक्षिक प्रदर्शनमा प्रत्यक्ष असर पार्छन्।

यता, शारीरिक स्वास्थ्यको पक्ष हेर्ने हो भने, मोबाइलको अत्यधिक प्रयोगले टाउको दुख्ने, आँखाको दृष्टि कमजोर हुने, घाँटी र मांसपेशी दुख्ने जस्ता समस्या उत्पन्न गराउँछ। दिनभर निष्क्रिय रहनु, सुत्नुअघि मोबाइल चलाउनुका कारण निद्रामा समेत बाधा पुग्ने गर्छ।

यस्ता समस्याबाट जोगिनका लागि विद्यार्थीहरू स्वयं सचेत हुनु अत्यावश्यक छ। मोबाइल प्रयोगमा सन्तुलन ल्याउने अभ्यास गर्नुपर्छ। समय निर्धारण गरेर मात्र मोबाइल चलाउने, खाने, पढ्ने र सुत्ने बेला यसबाट टाढा रहने प्रयास गर्नुपर्छ। ध्यान, योग, साइकल चलाउने, दौडनेजस्ता क्रियाकलापले मानसिक तथा शारीरिक स्वास्थ्यमा सुधार ल्याउँछ। परिवार र साथीहरूसँग प्रत्यक्ष भेटघाट र कुराकानी गर्ने अभ्यासले सामाजिक सम्बन्ध सुदृढ बनाउँछ। साथै, यदि मानसिक समस्या गहिरो भएको महसुस भएमा मनोपरामर्श लिन पनि पछि नहटिनु उपयुक्त हुन्छ।

अन्ततः हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने—स्मार्टफोन जीवनको विकल्प होइन, केवल एउटा साधन हो। प्रविधिको विवेकपूर्ण प्रयोगले मात्र हामीलाई लक्ष्यप्रति केन्द्रित रहन सहयोग पुर्‍याउँछ। आजको पुस्ताले प्रविधिको उपयोगसँगै मानसिक स्वास्थ्यप्रति पनि संवेदनशील बन्नुपर्ने समय आएको छ। यस विषयमा अभिभावक, शिक्षक, विद्यालय र सम्पूर्ण समाज सचेत हुनु जरुरी छ। साथै, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सरोकारवाला निकायहरूले जनचेतना फैलाउने काममा अझ सक्रिय भूमिका खेलून् भन्ने मेरो शुभकामना छ।

लेखक समाजिक अभियन्ता हुन् ।

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार १९:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !