छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २, शुक्रबार २२:५१
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

धनगढी : कैलाली, बझाङ र बाजुरामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको ज्यान गएको छ।

कैलालीको गौरीगंगा नगरपालिका–११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ADVERTISEMENT

खोलामा डुबेर मृत्यु हुनेमा सोही ठाउँका २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामी रहेका छन्। बिहीबार दिउँसो करिब २:४५ बजे घरदेखि करिब ७ सय मिटर दक्षिण–पश्चिममा रहेको खोलामा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोली र स्थानीयवासीको सहयोगमा दुवै जनालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो। उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, बझाङको केदारस्यु गाउँपालिका–५ की ५९ वर्षीया कमला बोहराको भीरबाट लडेर मृत्यु भएको छ। बिहीबार घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा करिब १०० मिटर तल खसेपछि गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल चैनपुर लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

बाजुराको गौमुल गाउँपालिका–३ कटीगाउँका ४१ वर्षीय वीरेन्द्र बोहराको पनि घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। असार ३१ गते बिहान बाग्याडोरा भीरमा घाँस काट्न गएका उनी बेलुका पनि घर नफर्किएपछि खोजी गरिएको थियो। पछि मृत अवस्थामा फेला परेका थिए।

बोहराका श्रीमती, दुई छोरा र एक छोरी छन्। स्थानीयले गौमुल गाउँपालिकामा वर्षेनी भीरबाट लडेर मृत्यु हुने घटना दोहोरिने गरेको बताउँदै वस्तुभाउ बढी पाल्ने र भीरपाखामा घाँस-दाउरा गर्नुपर्ने बाध्यताले यस्ता घटना हुने गरेको जनाएका छन्।

प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रबार २२:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !