वन अतिक्रमण नियन्त्रणमा योगदान दिएका सन्तोषकुमार झा प्रदेश सरकारबाट सम्मानित

वन अतिक्रमण नियन्त्रणमा योगदान दिएका सन्तोषकुमार झा प्रदेश सरकारबाट सम्मानित
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ श्रावण १, बिहीबार १५:२०
वन अतिक्रमण नियन्त्रणमा योगदान दिएका सन्तोषकुमार झा प्रदेश सरकारबाट सम्मानित

जनकपुरधाम : सर्लाहीमा वन क्षेत्रको अतिक्रमण नियन्त्रण, संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न उल्लेखनीय योगदान गरेका डिभिजन वन कार्यालयका प्रमुख सन्तोषकुमार झा प्रदेश सरकारबाट सम्मानित भएका छन्।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार जनकपुरधाममा आयोजित कार्यक्रममा झालाई कदरपत्रसहित सम्मान गरेका हुन्। सागरनाथ वन विकास परियोजना र सर्लाही जिल्लाभित्रको वन अतिक्रमण नियन्त्रणमा झाको सक्रियता, नेतृत्व र प्रभावकारी कार्यप्रणालीको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको हो।

ADVERTISEMENT

सम्मान समारोहमा वन तथा वातावरणमन्त्री संजयकुमार यादव र मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेको पनि उपस्थिति थियो। झालाई उनीहरुले संयुक्त रूपमा कदरपत्र प्रदान गरेका थिए।

मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको नीति तथा कार्यक्रम अन्तर्गत झाले पुर्‍याएको योगदानले प्रदेशको दीर्घकालीन वन रणनीति कार्यान्वयनमा टेवा पुगेको मन्त्रालयले जनाएको छ।

“डिभिजनल वन अधिकृत झाको अगुवाइमा सर्लाहीमा वन क्षेत्रको अतिक्रमण न्यूनीकरण, संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न उल्लेखनीय सफलता हासिल भएको छ,” मन्त्रालयद्वारा जारी कदरपत्रमा उल्लेख छ, “उहाँको कार्यशैली पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितामा आधारित भएकाले उदाहरणीय बन्न पुगेको छ।”

प्रदेश सरकारले झाको कार्यक्षमता, समर्पण र निष्ठाको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी भूमिकाको अपेक्षा समेत व्यक्त गरेको छ।

प्रकाशित मिति: २०८२ श्रावण १, बिहीबार १५:२०
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !