रौतहटमा दलित महिलामाथि बलात्कार, आरोपी खुलेआम घुम्दै, पीडितले भनिन्– अब विष खाएर मर्छु

रौतहटमा दलित महिलामाथि बलात्कार, आरोपी खुलेआम घुम्दै, पीडितले भनिन्– अब विष खाएर मर्छु
मधेशपत्र मधेशपत्र २०८२ असार ३२, बुधबार २३:१३
रौतहटमा दलित महिलामाथि बलात्कार, आरोपी खुलेआम घुम्दै, पीडितले भनिन्– अब विष खाएर मर्छु

अभिमन्यु कुमार पटेल
रौतहट : लोकतान्त्रिक संविधान जारी भएको एक दशक पुग्न लाग्दा पनि दलित, गरिब र महिलामाथिको हिंसा रोकिएको छैन। राज्यसंयन्त्र, सुरक्षा निकाय र राजनीतिक संरचना नै जब आरोपितका पक्षमा उभिन्छन्, त्यहाँ पीडितले न्याय पाउने सम्भावना झनै टाढिन्छ। यस्तै पीडाले भरिएको छ रौतहटको राजपुर नगरपालिका–३ बलुवा गाउँकी ३० वर्षीया दलित महिला (उपनाम) शरना देवी राम चमारको जीवन।

उनका अनुसार गाउँकै ६० वर्षीय खुर्सैद खाँ पैठानले २०८१ जेठ २५ गते घरनजिकैको बाँसघारीमा हातमुख बाँधेर बलात्कार गरेका थिए। पीडितले तत्कालै आफन्तको सहयोगमा प्रहरीमा उजुरी गर्न खोजिन्। तर, इलाका प्रहरी कार्यालय राजपुर फरहदवाले गम्भीरता नदेखाएपछि उनी जिल्ला प्रहरी कार्यालय, गौर पुगिन्। त्यहाँ तत्कालीन एसपी दिलीप घिमिरेको निर्देशनमा जबर्जस्ती करणीको मुद्दा त दर्ता भयो, तर आरोपी खुर्सैद एक वर्षसम्म फरार रहे।

ADVERTISEMENT

पैसाको चलखेल र राजनीतिक संरक्षण

एक वर्षको अवधिमा खुर्सैदका नातेदार र समर्थकहरू पटक–पटक शरना देवीको घरमा गएर ६ देखि ८ लाख रुपैयाँसम्मको प्रस्ताव राखेर मिलापत्र गर्न दबाब दिने गरेको पीडित पक्ष बताउँछ। तर शरनाले भने, “पैसा होइन, न्याय चाहिन्छ। मेरो इज्जत सस्तो छैन।”

उनको कथनअनुसार खुर्सैदले पारिवारिक सम्पत्तिको विवाद मिलाउने बहानामा फोन नम्बर लिएर बारम्बार यौन प्रस्ताव, धम्की र मानसिक यातना दिए। अन्ततः उनले बलात्कार गरे। घटनापछि आरोपी खुलेआम गाउँमा हिँड्ने, सरकारी निकायसम्म पुग्ने, प्रहरी कार्यालयमै भेटिने अवस्थाले पीडितलाई झनै त्रसित बनाएको छ।

“उसको पैसा र पहुँचले मेरो सबै प्रमाणलाई मेटाइदियो। अब अदालतबाट पनि न्याय नपाए विष खाएर म मर्छु,” शरना देवी भक्कानिदै भन्छिन्।

दलित, महिला र गरिबमाथिको दोहोरो उत्पीडन

घटनालाई लिएर पीडितको परिवार आक्रोशित छ। उनका श्रीमान् भन्छन्, “यदि यस्तो बलात्कारीले सजाय पाएन भने यो देशको कानुन धनी, पहुँचवालाको लागि मात्रै हो भन्ने प्रमाणित हुन्छ।”

स्थानीय स्रोतका अनुसार खुर्सैद खाँ पहिले नेकपा माओवादी केन्द्रमा थिए। घटना बाहिरिएपछि उनी नेपाली कांग्रेसमा सक्रिय भए र त्यसपछि राजनीतिक पहुँचमार्फत मुद्दालाई कमजोर पार्ने प्रयास भएको आरोप छ। काँग्रेसका स्थानीय नेताहरूको संलग्नतासमेत देखिएको भन्दै पीडित पक्षले राजनीतिक संरक्षणको गम्भीर आरोप लगाएका छन्।

समाजका अरू महिलाको मौनता

शरनाको उजुरीपछि गाउँकै अन्य महिलाहरूले पनि खुर्सैदबाट उत्पीडन भोगेको कुरा संकेतमा बताउँछन्, तर कोही खुलेर भन्न सक्दैनन्। “ऊ पहुँचवाला हो, बोलियो भने झन् उल्टै फसिन्छ भन्ने डर छ सबैमा,” एक स्थानीय महिला बताउँछिन्।

यसले देखाउँछ, नेपालमा अझै दलित महिला दोहोरो उत्पीडनको शिकार छन् — जातीय भेदभाव र लैंगिक हिंसाबाट। मुद्दा दर्ता भएर वर्ष दिन बित्दा पनि आरोपी पक्राउ नपर्नु, प्रहरी प्रशासनको ढिलासुस्ती, राजनीतिक हस्तक्षेप र आर्थिक लेनदेनको प्रयासले नेपालको न्याय प्रणालीमाथि गहिरो प्रश्न उठाएको छ।

प्रकाशित मिति: २०८२ असार ३२, बुधबार २३:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !