भ्रम छरेर होईन,जनताको मन जिते पो नेता

भ्रम छरेर होईन,जनताको मन जिते पो नेता
अबधेश कुमार झा अबधेश कुमार झा २०८२ असार ३२, बुधबार १९:२१
भ्रम छरेर होईन,जनताको मन जिते पो नेता

पछिल्लो समय जनमत पार्टी र पार्टीका नेताहरुको विरुद्धमा भ्रम छरेर केही व्यक्तिहरु आफुलाई स्थापित गर्न खोजिरहेका छन् । राजनीतिमा सक्रिय भएर नेताको रूपमा स्थापित हुनु सबैको अधिकार हो । तर आफ्ना कमजोरी र आफुले गरेका गलत क्रियाकलापमाथि प्रश्न नउठोस् भन्ने उद्देश्यले पार्टी र नेतृत्वका विरुद्ध अनर्गल प्रचारबाजीलाई जायज मान्न सकिन्न ।

स्वराज आदोलनवाट उदय हुँदै जनमत मार्फत राष्ट्रिय पार्टीको रूपमा जन आशिर्वाद प्राप्त जनमत पार्टीको मौजुदा अवस्थामा म नयाँ र कान्छो आस्थावान व्यक्ति हुँ । यो पार्टी स्थापना , संचालन र यो उचाइँमा पुर्याउने कार्यमा निश्चय पनि कार्यकर्ता देखि नेतासम्मको सक्रिय, सवल र सक्षम प्रयास अतुलनिय छ । पार्टीका हरेक कार्यकर्ताको सहयोगवाट पार्टी यो उचाइमा पुगेको हो ।

ADVERTISEMENT

तर त्यही सहयोग अपचलनको आरोप लागेर अदालतमा मुद्दा विचाराधीन रहँदानेतृत्वमाथि दोष थुपारेर आफ्ना दोष लुकाउन खोज्नु पनि सम्भवतः नैतिकता भित्र पर्दैन होला । पार्टी, संगठनमा वस्दा नीति र अनुशासन भित्र बाँधिनुपर्ने हुन्छ । तर पार्टीको नीति र सिद्धान्तलाई नै धरासायी बनाउने गरि गतिविधि गरेर आफुलाई चोखो देखाउन खोज्नु भन्दा ठुलो स्वार्थीपना के होला ? जनमत पार्टीका अध्यक्ष डा सिके राउतको न म जातको पर्छु न त नाता कुटुम्ब नै । एउटै निर्वाचन क्षेत्रका भने हामी हौं । हाम्रो गाउँको घरको दुरी ४ किलोमिटर फरकमा छ ।माध्यमिक शिक्षा पनि हामीले एउटै विद्यालयवाट प्राप्त गऱ्यौ । वहाँले जात, कुटुम्ब , नजिक गाँउका वा एउटै विद्यालयमा पढेको कारणले सांगठनिक जिम्मेवारी कदापी दिनु भएको होइन । अन्य आस्था संग जोडिएर रहँदा पनि काम गर्ने मेरो शैली र मेरो प्रतिवद्धताले मलाइ प्रेस जनमत संघको अध्यक्षको जिम्मेवारीमा पुर्याएको भन्ने मैले ठानेको छु ।

शिक्षक पिता तथा गृहिणी माताको कान्छो सन्तानको रुपमा सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मिनु भएका डा राउत काठमाडौं स्थित इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसबाट डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ र सोही ठाउँबाट ब्याचलर इन इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ‘यूनिवर्सिटी टप’ गर्दै डिग्री हासिल गर्नुभएको हो । त्यसपछि जापान सरकारको छात्रवृत्ति पाएर जापानको टोकियो विश्वविद्यालयबाट मास्टर्स इन इन्फरमेशन टेक्नोलोजी डिग्री लिँदै छात्रवृत्ति मैं बेलायतको क्याम्ब्रिज यूनिभर्सिटीबाट उहाँले इन्फरमेशन इन्जिनियरिङमा पिएच.डी. हासिल गर्नुभएको छ । पढाइपश्चात् उहाँ संयुक्त राज्य अमेरिकामा वरिष्ठ वैज्ञानिकको रुपमा कार्यरत हुनुहुन्थ्यो । राम्रो कमाई र उच्च पद त्याग गरेर मधेश र मधेशीको अधिकारका लागि आवाज उठाएकै कारण करिब दुई दर्जन पटक पक्राऊ पर्नुभएका डा. राउत जनताका लागि महिनौंसम्म जेलमा कष्ट यातना समेत भोग्नुभयो । प्रहरी दमनमा परेर उहाँको खुट्टा मात्रै भाँचिएन, उहाँमाथि सांघातिक हमला पनि भयो, तर पनि विचलित नभइकन आफ्नो कर्तव्यपथमा निरन्तर अगाडी बढ्नुभयो ।

जनताको माझवाट जनताकालागि आवाज उठाउँदै अगाडी बढेकै कारण आज नेपालको राजनीतिमा डा राउत एउटा फरक विचार तर राष्ट्रकै आवश्यकताका रूपमा स्थापित भइसक्नु भएको विषय आलोचकहरुले पनि स्वीकारेकै हो । रह्यो सन्दर्भ डा जयकान्त राउतको । डा जयकान्त कुनै वेरोजगार हुनुहुन्थेन ।

जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा. जयकान्त राउतलाई पार्टीको स्थायी समिति बैठकबाट राष्ट्रिय उपाध्यक्षमा चयन गरिनु केवल एक राजनीतिक नियुक्ति मात्र होइन, यो पार्टीको सिद्धान्त, मूल्य र संस्थागत परिपक्वताको पनि प्रतीक हो। तर दुर्भाग्यवश, यो नियुक्तिपछि केही व्यक्तिहरूले यसलाई आधारहीन आरोपसहित विकृत रूपमा व्याख्या गर्ने प्रयास गरेका छन्। यस्तो प्रवृत्ति न त राजनीतिक परिपक्वताको सूचक हो, न समाजलाई सकारात्मक दिशामा डो-याउने प्रयास नै हो ।

डा. जयकान्त राउतलाई केवल डा. सिके राउतका दाजु भनेर मात्रै सीमित गर्नु न त बौद्धिक रूपले यथार्थ हो, न नैतिक रूपले उचित। उहाँको जीवनयात्रा आफैँमा एक प्रेरणादायी कथाजस्तै छ। एक असल विद्यार्थीका रूपमा सुरु भएको यात्रा, सफल कृषि वैज्ञानिक, बौद्धिक अभियन्ता र अब एक समर्पित राजनीतिक नेतृत्वमा विकसित भएको छ। देशका विश्वविद्यालय, अनुसन्धान संस्था र कृषि नीति निर्माणको क्षेत्रमा उहाँले देखाएको सक्रियता र योगदानलाई बिर्सन सकिन्न।

जनमत पार्टीका संस्थापक अध्यक्ष डा. सिके राउतले जब आफ्नो विद्रोही भूमिकाबाट मुलधारको राजनीतिमा प्रवेश गर्नुभएको छ, त्यस प्रक्रिया र परिवर्तनको रणनीतिक पृष्ठभूमिमा डा. जयकान्तको सन्तुलित भूमिका उल्लेखनीय रह्यो। उहाँले फरक सम्भावनाबाट राजनीतिक समाधानको बाटोमा पार्टीलाई डोर्याउन निर्णायक भूमिका खेल्नुभएको थियो। आज जनमत पार्टी शान्तिपूर्ण, संविधानसम्मत र जनउत्तरदायी पार्टीका रूपमा स्थापित हुनुमा डा. जयकान्तको राजनीतिक दूरदृष्टि र संगठनात्मक क्षमता संगसंगै जोडिएको छ।

पार्टीको नीति निर्माण, सांगठनिक विस्तार, किसान–कृषि सम्बन्धी एजेण्डा निर्माण तथा वैज्ञानिक सोचलाई राजनीतिमा समाहित गर्न उहाँले गरेको काम प्रशंसनीय छ। यिनै सबै योगदानको आधारमा, पार्टीको विधानअनुसार, लोकतान्त्रिक प्रक्रियामार्फत उहाँलाई राष्ट्रिय उपाध्यक्ष बनाइएको हो, न कि कुनै पारिवारिक सम्बन्धका कारण।

यस्तो सन्दर्भमा, डा. जयकान्तको नियुक्तिलाई ‘भाइको पार्टी’ अथवा ‘पारिवारिक कब्जा’ जस्ता आरोप लगाउनु राजनीतिक लघुताभाषको उपज हो। लोकतन्त्रमा कुनै पनि व्यक्ति आफ्नो योग्यता, समर्पण र कार्यदक्षताको आधारमा अगाडि बढ्न सक्छ। यहाँ पनि त्यही भएको हो। तर, डा. जयकान्तले पार्टी भित्र बौद्धिक र सांगठनिक कामबाट आफूलाई स्थापित गरेपछि मात्र यो जिम्मेवारी प्राप्त गर्नुभएको हो ।

जनमत पार्टी अहिले देशको एक नवोदित तर सम्भावनायुक्त राजनीतिक शक्ति हो। यो पार्टीको सफल यात्रा नेतृत्वदायी व्यक्तित्वहरूको योग्य संयोजन र प्रतिबद्ध कार्यशैलीमा निर्भर गर्दछ। त्यसमा डा. जयकान्त राउत जस्ता शालीन, विद्वान र अनुशासित नेताको उपस्थिति पार्टीको दीर्घकालीन सफलता र वैचारिक सुदृढीकरणका लागि अनिवार्य छ।

अन्ततः डा. जयकान्तको उपाध्यक्ष पदमा चयनलाई ‘भाइवाद’ को चश्माबाट हेर्नुको सट्टा यो पार्टीको नीतिगत निर्णय, लोकतान्त्रिक प्रक्रिया र योग्यताको कदरका रूपमा हेर्न सक्नुपर्छ।

यो सम्पूर्ण घटनाले एउटा स्पष्ट सन्देश दिन्छ, नेपालको राजनीतिक संस्कार परिवर्तनको बाटोमा छ, जहाँ पारिवारिक हैसियतभन्दा पनि योग्यता र योगदानलाई प्राथमिकता दिन थालिएको छ। जनमत पार्टी र डा. जयकान्त राउतको यो कदम त्यस परिवर्तनको प्रतिमूर्ति बन्न सक्ने सामर्थ्य राख्छ।
जनमत पार्टीका विरुद्धमा कुप्रचार गर्नेहरुले यसको सागठनिक संरचनाको अध्ययन गर्नु राम्रो होला ।

कारण अध्यनले कहिल्यै पनि घाटा हुँदैन । पार्टीको मुख्य सागठनिक समितिहरु केन्द्रीय समिति, राजनैतिक समिति, अनुशासन समिति, नीति तथा मुल्याकन समिति , संसदिय क्षेत्र अनुगमन समिति, स्थानीय तह अनुगमन समिति, संगठन अनुगमन समितिका प्रमुखहरु कोही पनि डा राउत परिवार वा नाता कुटुम्बका होइनन् । सबै आफ्नो दक्षता, क्रियाशीलता र कर्मका कारण संगठनको जिम्मेवारीमा छन् ।

यस्तै पार्टी प्रवेश समन्वय समिति, प्रसासनिक समन्वय समिति, कानुनी परामर्स समिति, संसदिय परामर्स समिति र प्रकासन समितिमा कुनै परिवार वा जातका नभई योग्य र सक्षम नेतृत्वकर्ताले अवसर पाएका छन् । प्रशिक्षण विभाग सहित कुटनीतिक विभाग, अनुसन्धान तथा भ्रष्टाचार निवारण विभाग, गैर आवासीय मधेशी संघ, स्वास्थ्यकर्मी जनमत संघ, पशु चिकित्सक संघमा पनि नातागोता नभई कुशल नेतृत्वकर्ताहरु छन् । विद्यार्थी, प्रेस, दलित, नाई, आन्दोलनकारी, युवा र शिक्षक जनमतमा पनि नेतृत्व गरिरहेकाहरु पारिवारिक वा जातिय साइनोवाट नभई आफ्नो कार्यदक्षताका आधारमा त्यहाँ पुगेका छन् ।

संघीय तहमा सांसद होस वा प्रदेश सरकारको नेतृत्व गरिरहनुभएका मुख्यमन्त्री , वहाँहरु पनि डा राउत परिवारको नभइ पार्टीका कुशल नेतृत्वकर्ता हुनुहुन्छ । मधेशमा संसदीय दलको नेता होस् वा संघमा संसदीय समितिको सभापति या संघदेखि प्रदेश सम्म मन्त्री बन्ने अवस्था समान रूपले समावेशीताको आधारमा सबैले अवसर पाएका छन् ।

जन संप्रभुता, लोकतन्त्र, सामाजिक न्याय र समाजवादलाई अभिन्न अंग बनाउँदै जनताको पक्षमा वकालत गर्दै जन आशिर्वाद प्राप्त गरिरहेको जनमत पार्टी र नेताका विरुद्धमा भ्रम छरेर त्यस्तो भऱ्याङ्ग चढी नेता वन्ने मनसुवा हो भने त्यो सचेत जनताले पुरा हुन दिदैनन्, सकिन्छ भने आफ्नो कर्म सुधार गरेर जनताको वीचमा गई जनताको मन जितेर पो नेता वन्ने हो, होइन र ?

लेखक प्रेस जनमत संघका अध्यक्ष हुन् ।

प्रकाशित मिति: २०८२ असार ३२, बुधबार १९:२१

अबधेश कुमार झा

लेखक


तपाईको प्रतिक्रिया !