समृद्धिको लागि वन परियोजना अन्तर्गत वृक्षारोपण र संरक्षणमा जोड : मन्त्री यादव

समृद्धिको लागि वन परियोजना अन्तर्गत वृक्षारोपण र संरक्षणमा जोड : मन्त्री यादव
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ असार ३२, बुधबार १३:११
समृद्धिको लागि वन परियोजना अन्तर्गत वृक्षारोपण र संरक्षणमा जोड : मन्त्री यादव

जनकपुरधाम : मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री संजयकुमार यादवले समृद्धिको लागि वन परियोजना अन्तर्गत सञ्चालनमा रहेका कार्यक्रमहरूको स्थलगत अनुगमन गर्दै वृक्षारोपण र वन संरक्षणलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।

मंगलबार उनले महोत्तरीको जलेश्वरस्थित डिभिजन वन कार्यालय परिसरमा रहेको नर्सरीको निरीक्षण गर्दै उत्पादन भइरहेको बिरुवाहरूको अवस्थाबारे जानकारी लिएका थिए। निरीक्षणपछि उनले वृक्षारोपण कार्यक्रमलाई लक्षित गरी गुणस्तरीय बिरुवा उत्पादनमा तीव्रता दिन निर्देशन दिए।

ADVERTISEMENT

“जनताको माग अनुसार समयमै बिरुवा वितरण हुनुपर्छ,” मन्त्री यादवले भने, “रोपिएपछि त्यसको संरक्षण र मर्मतसम्भारमा समेत ध्यान दिनुपर्छ, नभए लगानी खेर जान्छ।”

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रका अनुसार हाल सो नर्सरीमा दुई लाखभन्दा बढी बिरुवा उत्पादन भइसकेका छन्। “जनताको माग अनुसार केही दिनभित्रै वितरण सुरु हुन्छ,” उनले भने, “एक बिघाभन्दा ठूलो क्षेत्रमा फैलिएको यस नर्सरीले जिल्लाभर वृक्षारोपण विस्तार गर्ने लक्ष्य राखेको छ।”

स्थलगत अनुगमनमा प्रदेश वन निर्देशनालयका निर्देशक जगरनाथ जसवाल, समृद्धिको लागि वन परियोजनाका प्रमुख सुजित कुमार झा, प्राविधिक टोली र स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यसै दिन मन्त्री यादवले सर्लाहीको पर्सा गाउँपालिका र ब्रहमपुरी गाउँपालिकामा कृषि वन प्रणालीमा आधारित वृक्षारोपण गरिएको स्थानहरूको समेत निरीक्षण गरेका थिए। त्यहाँ उनले कृषि र वन क्षेत्रलाई आपसमा जोड्दै दिगो विकास सम्भव हुने धारणा राखे।

“वन संरक्षणले कृषि उत्पादन बढाउने मात्र होइन, वातावरण संरक्षणमा समेत ठूलो योगदान पुर्‍याउँछ,” मन्त्री यादवले भने, “स्थानीय तहले समेत अग्रसरता देखाउँदै यो अभियानमा प्रदेश सरकारसँग हातेमालो गर्नुपर्छ।”

उनले प्रदेश सरकारले समन्वयमा आधारित नीति निर्माण र कार्यान्वयनमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै आमनागरिकलाई समेत सचेत गराउँदै सामुदायिक सहभागितामा आधारित योजना कार्यान्वयनमा जोड दिए।

वल्र्ड बैंकको आर्थिक सहयोगमा सञ्चालनमा रहेको ‘समृद्धिको लागि वन’ परियोजना अन्तर्गत निजी र सामुदायिक वनहरूलाई ५० प्रतिशत अनुदानमा वृक्षारोपण कार्यक्रम सञ्चालन भइरहेको छ।

परियोजनाले मधेश प्रदेशमा वन संरक्षण, वातावरणीय सन्तुलन तथा रोजगारी सिर्जनाको माध्यमबाट स्थानीयको जीवनस्तर उकास्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति: २०८२ असार ३२, बुधबार १३:११
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !