डा. कुशवाहाको सरुवा रोक्दै अदालतको अन्तरिम आदेश, निर्देशक पदमै निरन्तरता

डा. कुशवाहाको सरुवा रोक्दै अदालतको अन्तरिम आदेश, निर्देशक पदमै निरन्तरता
मधेशपत्र मधेशपत्र २०८२ असार २७, शुक्रबार १९:१२
डा. कुशवाहाको सरुवा रोक्दै अदालतको अन्तरिम आदेश, निर्देशक पदमै निरन्तरता

जनकपुरधाम : प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुरका निर्देशक डा. सुनिल कुशवाहाको सरुवा रोक्ने उच्च अदालत जनकपुरको अल्पकालीन आदेशलाई अन्तरिम आदेशमा परिणत गरिएको छ।

न्यायाधीश नरिश्वर भण्डारी र ओमप्रसाद अर्यालको संयुक्त इजलासले शुक्रबार डा. कुशवाहाले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरुवा कार्यान्वयन नगर्न दिएको अल्पकालीन आदेशलाई नै अन्तरिम आदेशमा रूपान्तरण गरेको हो।

ADVERTISEMENT

डा. कुशवाहाको सरुवा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असार १२ गते गरेको थियो। सो निर्णयअनुसार उनलाई प्रदेशको प्रादेशिक अस्पताल सिरहा पठाइएको थियो। उक्त निर्णयविरुद्ध असार १३ गते डा. कुशवाहाले उच्च अदालतमा रिट दायर गरेका थिए।

सुरुमा उक्त रिटमाथि एकल इजलासबाट असार १३ गते अल्पकालीन आदेश जारी गर्दै सरुवा तत्काल कार्यान्वयन नगर्न आदेश दिइएको थियो। साथै, दुवै पक्षको बहसका लागि असार २७ गतेका लागि पेशी तोकिएको थियो।

शुक्रबार भएको सुनुवाइपछि अदालतले सोही आदेशलाई अन्तरिम आदेशमा परिणत गर्दै डा. कुशवाहालाई हालको पदमा निरन्तरता दिने निर्णय गरेको हो।

अब अदालतको अन्तिम फैसलासम्म डा. कुशवाहा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशककै रूपमा कायम रहनेछन्।

प्रकाशित मिति: २०८२ असार २७, शुक्रबार १९:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !