भारतबाट स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई जना सर्लाही र रौतहटमा पक्राउ

भारतबाट स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई जना सर्लाही र रौतहटमा पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ असार २६, बिहीबार २२:४२
भारतबाट स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई जना सर्लाही र रौतहटमा पक्राउ

जनकपुरधाम : भारतबाट नेपालतर्फ अवैध रूपमा नगद रकम भित्र्याउने क्रममा सशस्त्र प्रहरीले सर्लाही र रौतहटको सीमाबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट झण्डै २५ लाख रुपैयाँ बराबरको नेपाली तथा भारतीय मुद्रा बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार सर्लाहीको मलङ्गवा नगरपालिका–८ स्थित सीमा क्षेत्रबाट मलङ्गवा–२ बस्ने ३६ वर्षीय इन्द्रजितप्रसाद साहलाई १४ लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो।

ADVERTISEMENT

साह भारतीय नम्बर प्लेट (BR 30 K 4009) रहेको मोटरसाइकलमा भारतबाट नेपाल प्रवेश गर्ने क्रममा थिए। उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलङ्गवा र भन्सार कार्यालय मलङ्गवाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।

यस्तै, रौतहटको गौर नगरपालिका–२ स्थित सीमा नजिकबाट रामनगर गाउँपालिका–२ खयरवा बस्ने ३० वर्षीय चन्दन पण्डितलाई पक्राउ गरिएको छ। उनको साथबाट ९ लाख २८ हजार ५ सय नेपाली रुपैयाँ र २ लाख १५ हजार ५ सय भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

पण्डित पनि मोटरसाइकलमा भारतबाट नेपाल प्रवेश गर्ने क्रममा थिए। उनीहरूले साथमा रहेको रकमको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ।

दुवै जनालाई बरामद नगद र सवारीसाधनसहित थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित मिति: २०८२ असार २६, बिहीबार २२:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !