वीरगन्जमा खानेपानीको चरम संकट : जनमत पार्टीको ‘जल सत्याग्रह’, सरकारविरुद्ध सडकमा

वीरगन्जमा खानेपानीको चरम संकट : जनमत पार्टीको ‘जल सत्याग्रह’, सरकारविरुद्ध सडकमा
मधेशपत्र मधेशपत्र २०८२ असार २५, बुधबार १५:१५
वीरगन्जमा खानेपानीको चरम संकट : जनमत पार्टीको ‘जल सत्याग्रह’, सरकारविरुद्ध सडकमा

वीरगन्ज : वीरगन्ज र आसपासका क्षेत्रमा खानेपानीको चरम अभाव भएपछि जनमत पार्टीले सरकारविरुद्ध ‘जल सत्याग्रह’ सुरु गरेको छ।

पानीको अभावका कारण स्थानीय बासिन्दाहरू दिनभर पानीकै खोजीमा भौतारिन बाध्य छन्। वर्षौंयता दोहोरिँदै आएको यो संकट समाधानका लागि कुनै ठोस कदम नचालिएको भन्दै जनमत पार्टीले गाग्री र बाल्टिनसहित सडक प्रदर्शन थालेको हो।

ADVERTISEMENT

आन्दोलनमा सहभागी कार्यकर्ताहरूले ‘पानी दे या मारी दे’, ‘तीनै तहको सरकार मुर्दाबाद’, ‘वीरगन्जमा पानीको लागि विशेष प्याकेजको घोषणा गर’ लगायतका नारासहित प्रदर्शन गरेका छन्। उनीहरूले वीरगन्ज र पर्सा जिल्लालाई ‘पानी संकटग्रस्त क्षेत्र’ घोषणा गरी तत्काल राहत प्याकेज ल्याउन माग गरेका छन्।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले सरकारमाथि वीरगन्ज उपेक्षित भएको गम्भीर आरोप लगाउँदै भने, “यो हाम्रो सरकार भए पनि जनताको पीडामाथि हामी चुप लाग्दैनौं। आवश्यक परे मुख्यमन्त्री कार्यालय घेराउ गर्छौं।”

सरकार गम्भीर नहुँदा जनताले सास्ती भोग्नुपरेको भन्दै उनले तत्काल दीर्घकालीन समाधान खोज्न आग्रह गरे। “हामी जनताको आवाज बुलन्द गर्न सडकमा आएका हौं,” सर्राफले भने, “यो लडाइँ जनताको हक अधिकारका लागि हो, सत्ताका लागि होइन।”

प्रकाशित मिति: २०८२ असार २५, बुधबार १५:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !