‘रमानन्द सिंह अध्ययन केन्द्र तथा थारु संग्रहालय’ अब प्रतिष्ठान बन्छ : सीके राउत

‘रमानन्द सिंह अध्ययन केन्द्र तथा थारु संग्रहालय’ अब प्रतिष्ठान बन्छ : सीके राउत
मधेशपत्र मधेशपत्र २०८२ असार २३, सोमबार १३:१०
‘रमानन्द सिंह अध्ययन केन्द्र तथा थारु संग्रहालय’ अब प्रतिष्ठान बन्छ : सीके राउत

सिरहा : थारू समुदायको भाषा, लिपि, संस्कृति र पहिचान संरक्षणका लागि ‘रमानन्द सिंह थारू भाषा–संस्कृति प्रतिष्ठान’ स्थापना हुने भएको छ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको आग्रहपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यसअघि घोषणा गरिएको ‘रमानन्द सिंह अध्ययन केन्द्र तथा थारू सङ्ग्रहालय’लाई प्रतिष्ठानमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका हुन्।

आइतबार लहानमा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रममा बोल्दै डा. राउतले आउँदो मधेश सरकारको मन्त्रिपरिषद् बैठकमै प्रतिष्ठान स्थापनाको निर्णय गर्न मुख्यमन्त्रीलाई आग्रह गरे। “सङ्ग्रहालयले केवल देखाउने काम गर्छ, तर प्रतिष्ठानले भाषा, लिपि र इतिहासको संरक्षण, अध्ययन र प्रवर्द्धन गर्छ,” उनले भने, “थारू समुदायको मौलिकता र पहिचान जोगाउन प्रतिष्ठान अपरिहार्य छ।”

ADVERTISEMENT

उनले जनमत पार्टीले सबै जाति, वर्ग र समुदायको समावेशी सहभागितालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै भने, “थारू समुदायको समृद्ध सांस्कृतिक धरोहरलाई राज्यले आत्मसात् गर्न जरुरी छ। प्रतिष्ठानले त्यसलाई संस्थागत बनाउनेछ।”

मुख्यमन्त्री सतिशकुमार सिंहले थारू नेताहरूको आग्रह र समुदायको भावना अनुसार अब संग्रहालय मात्र नभई प्रतिष्ठान बनाउने निर्णयमा प्रदेश सरकार पुगेको बताए। “थारू भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन हाम्रो प्राथमिकता हो,” उनले भने, “रमानन्द सिंहजस्ता अग्रजको योगदानको सम्मानमा दीर्घकालीन संरचना निर्माण गर्दै जान्छौं।”

यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममा सप्तरीमा ‘रमानन्द सिंह अध्ययन केन्द्र तथा थारू संग्रहालय’ स्थापना गर्ने घोषणा गरिएको थियो। तर थारू अगुवाहरूको मागपछि उक्त परियोजना प्रतिष्ठानमा रूपान्तरण गरिने भएको हो।

प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले प्रतिष्ठान स्थापनाका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा २५ लाख रुपैयाँ बजेट पनि विनियोजन गरिसकेको छ। यद्यपि थारू अगुवाहरूले यो रकम अपुग भएको भन्दै थप बजेट माग गरेका छन्।

थारू कल्याणकारिणी सभा, सिरहा जिल्ला अध्यक्ष सत्यनारायण चौधरीले प्रतिष्ठानले थारू भाषाको संरक्षण, लिपिको पुनःस्थापना, मौखिक इतिहासको दस्तावेजीकरण, साहित्य र कलाको प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे। “२५ लाख सुरुआतका लागि राम्रो हो, तर दीर्घकालीन संरचना र स्रोतसाधन व्यवस्थापनका लागि थप लगानी आवश्यक छ,” उनले भने।

कार्यक्रममा थारू समुदायका अगुवा, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

प्रकाशित मिति: २०८२ असार २३, सोमबार १३:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !