मुख्यमन्त्री सिंहद्वारा मधेश प्रदेश प्रहरी गणको स्थलगत निरीक्षण

मुख्यमन्त्री सिंहद्वारा मधेश प्रदेश प्रहरी गणको स्थलगत निरीक्षण
मधेशपत्र मधेशपत्र २०८२ असार १७, मंगलवार १९:३३
मुख्यमन्त्री सिंहद्वारा मधेश प्रदेश प्रहरी गणको स्थलगत निरीक्षण

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित रहेको मधेश प्रदेश प्रहरी गणको स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा उनले जीर्ण र जोखिमपूर्ण भवनहरूमा कार्यरत प्रहरीहरू आफूले देखेको उल्लेख गर्दै तिनको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

ADVERTISEMENT

मंगलबार मुख्यमन्त्री सिंहले महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको परिसरमा रहेको प्रहरी गणका प्रहरी कर्मचारीहरूले सरसफाइ र मर्मतमार्फत जीर्ण भवनलाई प्रयोगमा ल्याएको प्रयास प्रशंसनीय रहेको बताए।

“जोखिमपूर्ण र जीर्ण संरचना भएको भवनलाई प्रहरीहरूकै पहलमा सफा गरेर उपयोगमा ल्याउनु प्रेरणादायी छ,” उनले भने।

तर, उनले प्रहरीहरूको दैनन्दिन जीवन अत्यन्तै कष्टकर रहेको बताए। “जहाँ उनीहरू बस्दै आएका छन्, त्यहाँ अत्यधिक गर्मी छ, पंखा छैन, खानेपानीको पनि पर्याप्त व्यवस्था छैन,” मुख्यमन्त्री सिंहले भने, “सुरक्षामा अहोरात्र खटिने प्रहरी कर्मचारीहरूको यस्तो अवस्था दुःखद छ। यी समस्या तत्काल सम्बोधन हुनु आवश्यक छ।”

मुख्यमन्त्री सिंहले प्रदेश सरकारले प्रहरी गणको आवासीय सुविधा र कार्यस्थलको स्तरोन्नतिको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, सम्बन्धित मन्त्रालयहरूमार्फत व्यवस्थापनका पक्षमा आवश्यक सहयोग प्रदान गरिने उनको भनाइ छ।

मुख्यमन्त्री सिंहको यो निरीक्षण प्रहरी संगठनप्रति प्रदेश सरकार गम्भीर रहेको संकेतको रूपमा लिइएको छ।

प्रकाशित मिति: २०८२ असार १७, मंगलवार १९:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !