पार्टीकै मन्त्रीहरुबाट शहीद राम मनोहर यादवको अपमान किन ?

पार्टीकै मन्त्रीहरुबाट शहीद राम मनोहर यादवको अपमान किन ?
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ असार १७, मंगलवार ०९:१५
पार्टीकै मन्त्रीहरुबाट शहीद राम मनोहर यादवको अपमान किन ?

जनकपुरधाम : जनमत पार्टीकै मन्त्रीहरुले आफ्नै पार्टीका एक मात्र शहीद राम मनोहर यादवलाई अपमानित गरेको भन्दै विरोध भएको छ । जनमत पार्टी नेतृत्वकै मधेश प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले शहीद राम मनोहर यादवको नाममा ‘मजाक’ उडाउने गरी बजेट हालेको भन्दै पार्टी सचिव बीपी साहले विरोध जनाएका हुन् ।

स्वराज आन्दोलनका क्रममा नेपाल सरकारका तत्कालिन उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा पक्राउ गरी राम मनोहर यादवको हत्या भएको थियो । स्व.यादव जनमत पार्टीको एक मात्र शहीद हुन् ।

ADVERTISEMENT

शहीद यादवको नाममा जनमत पार्टी नेतृत्वकै मधेश प्रदेश सरकारले दुईवटा टुक्रे योजनामा जम्मा २० लाख बजेट विनियोजन गरेको छ । ती दुबै योजना सञ्चालन नहुने गरी बजेट हालिएको सचिव साहले बताएका छन् ।

पार्टीका उपाध्यक्ष ई.बसन्त कुशवाहाले नेतृत्व गरेको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले शहीद यादवको नाममा जम्मा ५ लाख रुपैंया बजेट विनियोजन गरेको छ । शहीद यादवको नाममा भवन बनाउनका लागि छुट्टाइएको कार्यक्रम संचलन नै हुने छैन ।

यस्तै पार्टीका सचिव संजय यादवले नेतृत्व गरेको वन तथा वातावरण मन्त्रालयले शहीद राम मनोहर यादव पार्कको निरन्तरताको नाउँमा जम्मा १५ लाख रुपैंया छुट्टयाएको छ । यसअघि जनमत पार्टीकै त्रिभुवन साह मन्त्री हुँदा उक्त आयोजनामा एक करोड रुपैंया छुट्याइएको थियो ।

मन्त्री यादवले पार्कलाई १५ लाख रुपैंया छुट्याइएपछि उक्त आयोजना पनि सञ्चालन हुन सम्भावना देखिदैन ।

पार्टीका सचिब बीपी साह भन्छन्,‘आफ्नै पार्टी नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुले आफ्नै पार्टीका शहीदलाई अपमानित गर्नु अपराध हो । हाम्रो पार्टीमा धेरै शहीदहरु पनि छैनन् कि बजेट विनियोजन गर्न कठिन होस् । एउटा मात्रै शहीदलाई पनि हामीले अपमानित गरेका छौं ।’

एमालेका मन्त्रीहरुले मदन भण्डारीको नाममा १० करोडभन्दा बढीको आयोजनाहरु राखेको, माओवादीले शहीद रामबृक्ष यादवको नाममा ३० लाख, पूर्व वडा अध्यक्षको नाममा समेत बजेट राखिको जानकारी दिदै सचिव साहले भने,‘एमाले, कांग्रेस र माओवादीले आफ्नो नेताको नाउँमा बजेट राखेको छन् । तर, मेरै पार्टीका मन्त्रीहरुलाई आफ्नो शहीदको नाममा बजेट राख्न कस्ले रोक्यो ? मन्त्री ज्यूहरु त पार्टीका पदाधिकारी पनि हुनुहुन्छ । उहाँहरुलाई यसको जवाफ दिनु पर्छ । होइन भने आगामी दिनमा हाम्रा नेता कार्यकर्ताहरुले उहाँहरुको मूल्यांकन गर्नुहुनेछ ।’

प्रकाशित मिति: २०८२ असार १७, मंगलवार ०९:१५
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !