प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा माफिया र मन्त्रीको सेटिङमा डा. कुशवाहा हटाइए

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा माफिया र मन्त्रीको सेटिङमा डा. कुशवाहा हटाइए
मधेशपत्र मधेशपत्र २०८२ असार १६, सोमबार २१:२५
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा माफिया र मन्त्रीको सेटिङमा डा. कुशवाहा हटाइए

जनकपुरधाम : मधेश प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा फेरि पनि ठूला चलखेल र ‘मेडिकल माफिया’को हस्तक्षेप देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामका निर्देशक डा. सुनिल प्रसाद कुशवाहालाई माफिया र मन्त्रीको सेटिङमार्फत गैरकानुनी ढंगले हटाइएको हो। असार १२ गतेको मन्त्रिपरिषद्को निर्णयपछि उनलाई पदमुक्त गर्दै वरिष्ठ कन्सल्टेण्ट मेडिकल जनरलिष्ट डा. राजीव कुमार झालाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।

ADVERTISEMENT

यो निर्णय पछाडि स्वास्थ्य क्षेत्रमा गहिरो जरा गाडेका ‘मेडिकल माफिया’ विशाल पण्डित र प्रदेशका वर्तमान स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंहको संलग्नता रहेको दाबी स्रोतहरूको छ। पण्डितले आफ्नै प्रभावमा रहेका कम्पनीमार्फत करिब २२ करोड रुपैयाँ बराबरको औषधि र सामग्रीको ठेक्का पार्न दबाब दिइरहेका थिए। तर, प्रक्रिया अपारदर्शी रहेको भन्दै निर्देशक डा. कुशवाहाले ती प्रस्ताव अस्वीकार गरेपछि उनीमाथि धम्की र हटाउने रणनीति सुरु भएको स्रोतहरूको भनाइ छ।

“डा. कुशवाहा प्रक्रिया र पारदर्शितामाथि अडिग थिए। उनी सेटिङमा नहिँड्ने भएपछि पण्डित र मन्त्री दुबै ताते,” स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, “मुख्यमन्त्री र मन्त्रीलाई प्रभावमा पार्दै पण्डितले आफूनिकट व्यक्ति ल्याउन दबाब बढाए। अन्ततः कुशवाहा हटाइए।”

डा. कुशवाहा प्रदेशको अधिकृत एघारौं तहका कर्मचारी हुन्। उनी नियुक्त प्रक्रिया र बजेट पारदर्शितामै जोड दिँदै आएका थिए। स्रोतहरूका अनुसार उनले ठूलो रकमको चलखेलमा संलग्न हुन नमानेकै कारण हटाइएका हुन्।

विशाल पण्डित विगत सात वर्षदेखि मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा ठेक्का, उपकरण आपूर्ति, निर्माण लगायतका काममा निर्णायक प्रभाव राख्दै आएका व्यक्ति हुन्। उनकाे संलग्नतामा भएका चार ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भइसकेका छन्।

तीमध्ये एक प्रकरणमा प्रादेशिक स्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक श्रवण मिश्रसहित १९ जना कर्मचारी निलम्बनमा परेका थिए। तर, पण्डित भने राजनीतिक संरक्षणका कारण सधैं उन्मुक्त देखिन्छन्।

यसपटक पनि उनीकै सिफारिसमा संघीय सरकारअन्तर्गतका दशौं तहका कर्मचारी डा. राजीव कुमार झालाई निमित्त निर्देशक बनाइएको मन्त्रालय स्रोतहरूको दाबी छ। स्रोतहरूका अनुसार “डा. झा अनुभवी भए पनि नियुक्ति प्रक्रिया योग्यताको आधारमा नभई सेटिङका आधारमा गरिएको हो।”

अझ खतरनाक कुरा के भने दुई साता अघि प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको कार्यकक्षमै पण्डितका नजिकका प्रतिनिधि सुदेश श्रीवास्तव र प्रेम सिंहले डा. कुशवाहासहित अन्य कर्मचारीहरूलाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए।

यस्ता घटनाहरूले स्वास्थ्य आपूर्ति प्रणालीमा गम्भीर संकट उत्पन्न गरिरहेको विश्लेषकहरू बताउँछन्। मन्त्रालयकै एक उच्च अधिकारी भन्छन्, “यदि निष्पक्षता र पारदर्शिता पालन गर्ने कर्मचारीलाई यति सजिलै हटाइन्छ भने यो स्वास्थ्य प्रणालीको भविष्य नै अन्धकारमा जाने खतरा छ।”

कुशवाहाको हटाइएकाे घटनालाई प्रदेशभरका कर्मचारी र सचेत वर्गले आपत्ति जनाउँदै सत्यतथ्य छानबिनको माग गरेका छन्। उनीहरूको तर्क छ– योग्य र इमानदार कर्मचारीहरूलाई यसरी किनारा लगाइने हो भने सरकारी प्रणालीमा सुधार सम्भव छैन।

अहिलेसम्म डा. कुशवाहा स्वयम् मौन छन्। तर स्रोतहरू भन्छन्, उनले संविधान र कानुनअनुसारको आफ्नो हैसियतको रक्षा गर्न अदालतको ढोका ढकढक्याउने तयारी गरिरहेका छन्।

यता, मन्त्री सिंह र पण्डित पक्ष भने टिप्पणी गर्न तयार छैनन्। तर, घटनाक्रमले मधेश प्रदेशको स्वास्थ्य आपूर्ति प्रणाली गम्भीर राजनीतिक र माफियातन्त्रको चपेटामा परेको पुष्टि गरिरहेको छ।

प्रकाशित मिति: २०८२ असार १६, सोमबार २१:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !