वृक्षारोपण विशेष अभियान : मधेशमा ८६ लाख बिरुवा रोपिने

वृक्षारोपण विशेष अभियान : मधेशमा ८६ लाख बिरुवा रोपिने
मधेशपत्र मधेशपत्र २०८२ असार १६, सोमबार १०:२८
वृक्षारोपण विशेष अभियान : मधेशमा ८६ लाख बिरुवा रोपिने

जनकपुरधाम : वनक्षेत्रको अभाव र चुरे क्षेत्रको तीव्र विनाशलाई ध्यानमा राख्दै मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षलाई वृक्षारोपण विशेष अभियानको रूपमा अघि सारेको छ।

अभियान अन्तर्गत कुल ८६ लाख बिरुवा उत्पादन गरी संरक्षणसहित विभिन्न स्थानमा रोप्ने तयारी भइरहेको छ। डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहका अनुसार जनकपुर–ढल्केवर सडक खण्डको दुवै किनारमा ४ हजार ४ सय बिरुवा रोप्ने कार्य सुरु भइसकेको छ।

ADVERTISEMENT

जनकपुरधाम प्रवेश गर्ने प्रमुख राष्ट्रिय तथा व्यापारिक मार्गमा हरियाली विस्तार गर्ने दीर्घकालीन उद्देश्यले अभियान अघि बढाइएको हो।

वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेका अनुसार ५० किलोमिटर सडक पेटी र २७८ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिनेछ। तीमध्ये सडक पेटीमा मात्र ४ लाख बिरुवा रोपिने लक्ष्य राखिएको छ भने बाँकी बिरुवा सार्वजनिक तथा निजी क्षेत्रहरूमा रोपिनेछन्।

प्रदेश सरकारले आफ्नै बजेटबाट ६२ लाख बिरुवा उत्पादन गरिरहेको छ भने बाँकी संघीय सरकारको सशर्त अनुदानबाट उत्पादन हुँदैछ। उत्पादन भएका बिरुवा सर्वसाधारणलाई निःशुल्क वितरण गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उत्पादन भएका बिरुवामध्ये करिब ८ प्रतिशत मात्रै सरकारी वन क्षेत्र वा डिभिजन वन कार्यालयको मातहतमा पर्ने भूभागमा रोपिने छन्। बाँकी ८०–९० प्रतिशत बिरुवा निजी जग्गामा रोपिने व्यवस्था गरिएको छ।

सरकारले यो अभियानबाट वन क्षेत्र विस्तार, भूमि कटान नियन्त्रण र वातावरणीय सन्तुलन कायम गर्न मद्दत पुग्ने विश्वास लिएको छ। वृक्षारोपणलाई सामाजिक अभियानको रूपमा अघि बढाउन स्थानीय तह र समुदायसँग सहकार्य गरिने रणनीति समेत तय गरिएको छ।

प्रकाशित मिति: २०८२ असार १६, सोमबार १०:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !