मधेशको बजेटमा अर्थ मन्त्रालयको कुनै हस्तक्षेप छैन : मन्त्री यादव

मधेशको बजेटमा अर्थ मन्त्रालयको कुनै हस्तक्षेप छैन : मन्त्री यादव
मधेशपत्र मधेशपत्र २०८२ असार १६, सोमबार ०८:५५
मधेशको बजेटमा अर्थ मन्त्रालयको कुनै हस्तक्षेप छैन : मन्त्री यादव

रौतहट : मधेश प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सुनीलकुमार यादवले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा अर्थ मन्त्रालयले कुनै हस्तक्षेप नगरेको स्पष्ट पारेका छन्।

२२औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार रौतहटको गौरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले प्रदेशको बजेट तर्जुमा प्रक्रियामा अन्य मन्त्रालयहरू आफैं सहभागी भएको र बजेट इन्ट्री पनि सम्बन्धित मन्त्रालयहरूले नै गरेको दाबी गरे। ‘पिएलएमबिआइस सफ्टवेयरमार्फत हरेक मन्त्रालयले आफैं बजेट प्रविष्टि गर्छ, अर्थ मन्त्रालयले हस्तक्षेप गरेको छैन,’ मन्त्री यादवले भने।

ADVERTISEMENT

गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिकलाई पोषण सामग्री शीर्षकमा ९७ करोड ६० लाख रुपैयाँको बक्यौता इन्ट्रीबारे उठेको टीकाटिप्पणीप्रति स्पष्ट पार्दै उनले सो योजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै भएको बताए। ‘बजेटको बाँकी रकम स्पष्ट गर्न निर्देशन दिइएको छ, यकिन भएपछि निकासा हुनेछ, बाँकी सञ्चित कोषमा जान्छ,’ उनले भने।

मन्त्री यादवका अनुसार पिएलएमबिआइस सफ्टवेयरको युजरनेम र पासवर्ड सम्बन्धित मन्त्रालयमै हुन्छ भने सुपर युजर अधिकार भने अर्थ मन्त्रालयसँग मात्रै हुन्छ। ‘तर त्यो अधिकार प्रयोग गरेर पनि हामीले अन्य मन्त्रालयको बजेट सम्पादन गरेका छैनौं,’ मन्त्री यादवले प्रष्ट पारे।

कार्यक्रममा उनले राष्ट्रिय धान दिवसको शुभकामना दिँदै कृषि विद्युतीकरण, सिँचाइ, उत्पादन वृद्धि र बजारीकरणलाई सरकारको प्राथमिकतामा राखिएको र आगामी दिनमा ती योजनालाई थप प्रभावकारी बनाइने बताए।

प्रकाशित मिति: २०८२ असार १६, सोमबार ०८:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !