‘धनुष सखुवा’ नामकरण : सयौँ वर्ष पुरानो सखुवाको रुख धनुषको आकारमा

‘धनुष सखुवा’ नामकरण : सयौँ वर्ष पुरानो सखुवाको रुख धनुषको आकारमा
मधेशपत्र मधेशपत्र २०८२ असार १४, शनिबार २०:४३
‘धनुष सखुवा’ नामकरण : सयौँ वर्ष पुरानो सखुवाको रुख धनुषको आकारमा

जनकपुरधाम : धनुषा जिल्लाको मानव संरक्षित वन क्षेत्रमा भेटिएको धनुष आकारको सयौं वर्ष पुरानो सखुवा रुखलाई मधेश प्रदेश सरकारले ‘धनुष सखुवा’ नाम दिएको छ।

राष्ट्रिय वृक्षारोपण दिवस–२०८२ को अवसरमा शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र वन तथा वातावरण मन्त्री संजयकुमार यादवले संयुक्त रूपमा उक्त नामकरण गरेका हुन्।

ADVERTISEMENT

धनुषाधाम नगरपालिका–९ स्थित कबुलियट वन क्षेत्रभित्र निरीक्षणका क्रममा करिब १८ फिट गोलाइ भएको र विशिष्ट धनुष आकारमा देखिएको उक्त सखुवाको रुख फेला परेको हो।

मुख्यमन्त्री सिंहको सचिवालयका अनुसार, उक्त रुख प्राकृतिक र सांस्कृतिक विशेषताले भरिपूर्ण भएकाले यसलाई संरक्षण र प्रवर्द्धनको विशेष योजनामा समावेश गरिनेछ।

कार्यक्रमअन्तर्गत मुख्यमन्त्री र मन्त्रीद्वयले दैनिक चौपाया चरनले बाझिएको वन क्षेत्रभित्र स्थानीय बासिन्दा र डिभिजन वन कार्यालय धनुषासँग सहकार्यमा वृक्षारोपण पनि गरेका थिए।

मुख्यमन्त्री सिंहले वातावरण संरक्षण सरकारको प्राथमिकतामा रहेको बताउँदै संरक्षित क्षेत्रको दीर्घकालीन संरक्षणका लागि स्थानीयको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे।

मन्त्री यादवले ‘धनुष सखुवा’ जैविक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण भएकाले यसको थप अध्ययन र प्रचार-प्रसार गरिने बताए।

राष्ट्रिय वृक्षारोपण दिवसकै अवसरमा गरिएको यो नामकरण तथा वृक्षारोपण कार्यक्रमले वन संरक्षणमा समुदायको सहभागिता थप बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ असार १४, शनिबार २०:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !