सरकारप्रति मधेश केन्द्रित दलहरुको असन्तुष्टि

सरकारप्रति मधेश केन्द्रित दलहरुको असन्तुष्टि
मधेशपत्र मधेशपत्र २०८२ असार १४, शनिबार ०७:५१
सरकारप्रति मधेश केन्द्रित दलहरुको असन्तुष्टि

जनकपुरधाम : केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका मधेश केन्द्रित दलहरूमा असन्तुष्टि बढ्दै गएको देखिएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नै गरिसकेको छ । जसपा नेपालले समर्थन फिर्ता लिने निर्णय गरे पनि संसदीय दलको बैठकबाट अनुमोदन भने गरिएको छैन ।

जसपा नेपालले समर्थन फिर्ता लिएको जनाएसंगै जनमत पार्टीले पनि ओली सरकारप्रति तीव्र असन्तुष्टि जनाउन थालेका छन् । मधेश प्रदेशको सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले मधेश प्रदेशकै बजेटको विषयमा समेत असन्तुष्टि जनाएको छ । पार्टीको बैठक बसेर सरकारको बारेमा निर्णय लिने सो पार्टीले आइतबार बस्ने बैठकबाट निर्णय गर्ने स्रोतले जनाएको छ ।

ADVERTISEMENT

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि ओली सरकारप्रति सन्तष्ट छैन । पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबिच देखिएको द्वन्द्वका कारण सरकारबारे सो पार्टीले ठोस निर्णय लिएको छैन । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सरकारको काम कारबाहीप्रति असन्तुष्ट छन् ।

संविधान संशोधन, राजबन्दी रिहाइलगायतका विषयमा ओली सरकारले सम्बोधन नगरेको भन्दै लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले औपचारिक रूपमै पटक– पटक असन्तुष्टि जनाइसकेका छन् । सो पार्टीका महासचिव डा.सुरेन्द्र झाले सहमतिका साथ हामी सरकारमा सहभागी भएको स्मरण गर्दै सो अनुसार काम नभएको प्रति असन्तुष्टि पोखे । उनले मुख्य एजेण्डा नै संविधान संशोधन रहेको र सो कार्य पनि अहिलेसम्म हुन नसकेको बताए ।

मधेश आन्दोलनताका पक्राउ परेका बन्दीहरू रिहा नभएको, लाल आयोगका प्रतिवेदन सार्वजनिक नगरिएको मधेश केन्द्रित दलका नेताहरु बताउँछन् । यी माग पूरा गराउन लोसपा नेपालले पटक पटक दबाब दिइरहेको उनको भनाइ छ । संविधानको अग्रगामी संशोधन गर्ने, सुशासनको ठोस प्रत्याभूति आमजनताले प्राप्त गर्ने, तीव्र गतिमा आर्थिक विकास गर्ने, स्वदेशमै रोजगारीको वातावरण बनाउने, भ्रष्टाचारको महामारीबाट देशलाई मुक्त गर्नेजस्ता महत्वपूर्ण प्रतिवद्धता गरेको एक वर्षसम्म पनि वर्तमान सरकारले कुनै कार्य नगरेको कारण मधेश केन्द्रित दलहरुले समर्थन फिर्ता लिन सक्ने अवस्था रहेको देखिन्छ ।

सरकारलाई समर्थन दिएका, सरकारमै सहभागी भएका र सरकार बाहिर रहेका तराई मधेशका सात दलले संघीय लोकतान्त्रिक मोर्चा पनि सरकारप्रति असन्तुष्ट छन् । मोर्चाले आफ्ना माग पूरा हुने अवस्था नदेखिएका कारण मधेश केन्द्रित दलहरु आ–आफ् नो तरिकाले सरकारबाट अलग हुने संकेत दिन थालेका छन् ।

आइतबार बस्ने मोर्चाको बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने राष्ट्रिय मुक्ति पार्टी नेपालले जनाएको छ । मोर्चामा रहेका सातमध्ये चार दल संघीय संसदमा छन् । तीमध्ये जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ भने जनमत, लोसपा नेपाल र नागरिक उन्मुक्ति पार्टी पनि मोर्चामा आवद्ध छन् । तर ओली सरकारको व्यवहारका कारण उनीहरु पनि असन्तुष्टि पोख्दै आएका छन् ।
– जनकपुर टुडे

प्रकाशित मिति: २०८२ असार १४, शनिबार ०७:५१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !