धनुषा–सिरहा जोड्ने कमला नदीमा पुल निर्माणका लागि मधेश सरकारले बजेट राख्यो

धनुषा–सिरहा जोड्ने कमला नदीमा पुल निर्माणका लागि मधेश सरकारले बजेट राख्यो
मधेशपत्र मधेशपत्र २०८२ असार १२, बिहीबार १३:०९
धनुषा–सिरहा जोड्ने कमला नदीमा पुल निर्माणका लागि मधेश सरकारले बजेट राख्यो

जनकपुरधाम : धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथि पुल निर्माणका लागि मधेश प्रदेश सरकारले ऐतिहासिक पहल थालेको छ। लामो समयदेखि संघीय सरकारको उपेक्षामा परेको यो पुल निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को रेडबुकमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।

धनुषा र सिरहाको जनजीवनलाई सहज बनाउने उद्देश्यसहित विनियोजित बजेटलाई तत्काल प्रारम्भिक प्रक्रिया अघि बढाउने संकेतको रूपमा लिइएको छ। यद्यपि, एक करोड रकमले पुलको सम्पूर्ण निर्माण खर्च धान्न नसक्ने भएकाले यसलाई प्रदेश सरकारले विकासप्रतिको गम्भीरता र राजनीतिक प्रतिबद्धताको सुरुआती कदमका रूपमा व्याख्या गरिएको छ।

ADVERTISEMENT

मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा अघि बढाइएको यो योजनाले प्रदेश भित्र सकारात्मक चर्चा पाएको छ। मुख्यमन्त्री सिंहले भने, “कमला नदीमा नयाँ पुल निर्माण गर्नु धनुषा–सिरहाको मात्रै हैन, सिंगो प्रदेशको आवश्यकता हो। हामी दृढताका साथ यो कार्य अगाडि बढाउँदैछौं।”

लामो समयदेखि कमला नदीमाथिको पुल नहुँदा बर्खायाममा आवत–जावतमा जनतालाई ठूलो सास्ती हुने गरेको थियो। प्रत्येक वर्ष हजारौं स्थानीयहरू आवागमनमा समस्या भोग्न बाध्य छन्।

मुख्यमन्त्री सिंहले प्रारम्भिक बजेटले काम सुरु गर्न सहज बनाउने र आवश्यकता अनुसार चरणबद्ध रूपमा बजेट थप गरिने जनाएका छन्। “तत्कालको लागि रेडबुकमा एक करोड राखिएको छ। तर काम सुरु भएपछि आवश्यक बजेट थप्दै जानेछौं,” उनले भने।

प्रदेश सरकारको यो कदमलाई स्थानीयवासी तथा जनप्रतिनिधिहरूले स्वागत गरेका छन्। उनीहरूले प्रदेश सरकारले उठाएको यो पहलकदमीलाई ‘ऐतिहासिक’ भन्दै संघीय सरकारलाई समेत यसमा चासो दिन आग्रह गरेका छन्।

कमला नदीमाथि पुल निर्माण हुनु धनुषा–सिरहा मात्र होइन, मधेश प्रदेशका लाखौं नागरिकको आकांक्षा हो। प्रदेश सरकारको पहलले यो सपना साकार हुने विश्वास स्थानीयमा पलाएको छ।

प्रकाशित मिति: २०८२ असार १२, बिहीबार १३:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !