सप्तरीमा ‘रामानन्द सिंह थारु संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र’ स्थापना हुने

सप्तरीमा ‘रामानन्द सिंह थारु संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र’ स्थापना हुने
मधेशपत्र मधेशपत्र २०८२ असार १२, बिहीबार १०:०१
सप्तरीमा ‘रामानन्द सिंह थारु संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र’ स्थापना हुने

सप्तरी : थारु समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि सप्तरीमा ‘रामानन्द सिंह थारु संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारु संग्रहालय’ स्थापना हुने भएको छ।

यो केन्द्रको स्थापना गर्नको लागि मधेश प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको बजेटमा समावेश गरिएको छ। कुल २५ लाख रुपैयाँ बजेट सुरक्षित गरिएको छ। यो थारु समुदायको सांस्कृतिक पहिचान जगेर्ना गर्ने ऐतिहासिक प्रयासको रूपमा लिइएको छ।

ADVERTISEMENT

थारु समुदायका अगुवा रामानन्द सिंह थारुको नाममा केन्द्र स्थापना गर्ने योजना ल्याइएको हो। हालसम्म कुनै पनि राजनीतिक दलले थारु समुदायको भाषा र संस्कृतिको विकास एवं संरक्षणतर्फ स्पष्ट कदम चालेको इतिहास नरहेको अवस्थामा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको पहलमा यो योजना अगाडि बढेको हो।

जनमत पार्टीले थारु समुदायसँगको ऐतिहासिक सम्बन्धलाई मूल्यांकन गर्दै सांस्कृतिक उत्थानका विषयलाई नीति तथा कार्यक्रममा समेट्दै आएको छ। यही निरन्तरताको रुपमा यस केन्द्रको स्थापना हुने भएको हो।

स्थानीयस्तरमा थारु भाषा, कला, परम्परा र सामुदायिक इतिहासमाथि अध्ययन, अनुसन्धान र प्रदर्शनी गर्न सकिने संरचना निर्माण गरिने मन्त्रालयले जनाएको छ।

थारु समुदायमा उत्साह

थारु समुदायभित्र भाषा, संस्कृति र पहिचान संरक्षणका लागि एक ऐतिहासिक कदमको रुपमा “रामानन्द सिंह थारु भाषा संस्कृतिको विकास तथा संरक्षण अध्ययन केन्द्र/प्रतिष्ठान” स्थापनाको प्रक्रिया सुरु गरिएको छ। जनमत पार्टीको पहलमा यो प्रतिष्ठान यसै वर्षदेखि तदारुकताका साथ अघि बढाइने भएको छ।

थारु समुदायमा पूर्वदेखि पश्चिमसम्म गहिरो प्रभाव भएका प्रतिष्ठित व्यक्ति रामानन्द सिंह थारुको नाममा केन्द्र स्थापना गरिँदैछ। सप्तरी क्षेत्र नम्बर १, अग्निकृष्णा सबरन गाउँपालिका–प्रसवनी निवासी सिंहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थारु, मधेसी र आदिवासीजनजातिको हक–अधिकारका लागि उल्लेखनीय योगदान दिएका छन्।

थारु समुदायको लागि अद्वितीय योगदान

रामानन्द सिंह थारु थारु कल्याणकारी सभाका संस्थापक सदस्य हुन्, जुन अझै पनि थारु समुदायभित्र सबैभन्दा प्रभावशाली संस्था मानिन्छ। उनी मधेसी तथा थारु समुदायबाट पहिलो पटक नेपालको महान्यायाधिवक्ताको पदमा पुग्ने व्यक्ति बनेका थिए। साथै, संयुक्त राष्ट्रसंघ (यूएन) मा नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मानव अधिकारका क्षेत्रमा थारु र अन्य आदिवासी समुदायको मुद्दा उठाएका थिए।

२०४७ सालको प्रजातान्त्रिक संविधान निर्माणमा मस्यौदाकारको रूपमा पनि सिंहले भूमिका निर्वाह गरेका थिए।

सामाजिक परिवर्तनका अगुवा

सामाजिक क्षेत्रमा पनि सिंहको योगदान अत्यन्त उल्लेखनीय छ। आफ्ना पिताको नाममा २० बिगाहा जग्गा दान गरी ‘श्री महिकर माध्यमिक विद्यालय’ स्थापना गरेका थिए। थारु समाजमा प्रचलित कन्यायौति प्रथा र मृत्यु पश्चातको मासिक कर्म प्रथा जस्ता परम्परागत कुरीतिहरूको अन्त्यमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए।

बिबाहमा हुने फजुल खर्चको विरोधमा जनचेतना अभियान चलाउनुका साथै, थारु संस्कृतिका संरक्षणका लागि ‘थारु संस्कृति’ नामक संस्था गठन गरी सोही नाममा नियमित पत्रिका प्रकाशन समेत गरेका थिए।

अनुसन्धान र साहित्यिक योगदान

रामानन्द सिंह थारुले थारु समुदायको पहिचानबारे लेखिएको “The Real Story of the Tharus” नामक अनुसन्धानात्मक पुस्तक लेखेका छन्। त्यस्तै, गीता र बौद्ध धर्मसम्बन्धी एक दर्जन पुस्तकहरू थारु भाषामा अनुवाद गरेका छन्, जसले थारु भाषाको साहित्यिक कोषमा अभूतपूर्व योगदान पुर्याएको छ।

जनमत सरकारको पहल

थारु भाषा तथा संस्कृतिको क्षेत्रमा हालसम्म कुनै पनि राजनीतिक दलले गम्भीर पहल नगरेको अवस्थामा जनमत पार्टी नेतृत्वको सरकारबाट गरिएको यो प्रयासले समग्र थारु समुदायभित्र सकारात्मक सन्देश पुर्याएको छ।

जनमत पार्टीले जनाएको अनुसार, “रामानन्द सिंह थारु भाषा–संस्कृतिको विकास तथा संरक्षण अध्ययन केन्द्र” स्थापनाको काम यो वर्षदेखि विधिवत् रूपमा अगाडि बढाइने छ।

 

 

प्रकाशित मिति: २०८२ असार १२, बिहीबार १०:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !