जनमत अध्यक्ष सीके राउतको गुनासो : ‘नीति र भिजनबाट वञ्चित गरियो, आफ्नै सरकारले बेवास्ता गर्‍यो’

जनमत अध्यक्ष सीके राउतको गुनासो : ‘नीति र भिजनबाट वञ्चित गरियो, आफ्नै सरकारले बेवास्ता गर्‍यो’
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ असार ११, बुधबार २१:४३
जनमत अध्यक्ष सीके राउतको गुनासो : ‘नीति र भिजनबाट वञ्चित गरियो, आफ्नै सरकारले बेवास्ता गर्‍यो’

जनकपुरधाम : मधेश प्रदेश सरकारले सार्वजनिक गरेको वार्षिक कार्यक्रम तथा बजेट (रेडबुक) २०८२/८३ मा जनमत पार्टीको नीति, सिद्धान्त र भिजनलाई बेवास्ता गरिएको भन्दै पार्टी अध्यक्ष डा. सीके राउतले गम्भीर असन्तोष प्रकट गरेका छन्।

डा. राउतले जनमत पार्टीले जनता बीचमा गएर उठाएका तथा सिफारिस गरेका योजनाहरू रेडबुकमा समावेश नहुनु र भए पनि न्यून बजेट मात्र छुट्याइनु दु:खद भएको बताएका छन्। “सडकमा जनतासँग प्रत्यक्ष संवाद गर्दै ल्याइएका कार्यक्रम ५-५ लाखमा सीमित गरिएका छन्, तर बिचौलिया वा अन्य पार्टीमार्फत आएका योजनामा २५-५० लाखदेखि २–४ करोडसम्म बजेट राखिएको देखिन्छ,” उनले आक्रोश पोखे।

ADVERTISEMENT

विशेष गरी सप्तरी-२ क्षेत्रको योजनाहरूप्रति गरिएको बेवास्ता ‘राजनीतिक प्रतिशोध’ भएको उनको आरोप छ। “सिरियली रूपमा तलमाथि अरूको योजनामा करोडौं छन्, तर बीचमा मेरो क्षेत्रको योजना आयो भने ५ लाख मात्रै! कस्तो विडम्बना!” उनले भने।

अध्यक्ष राउतले पछिल्लो एक महिनामा मधेश सरकारअन्तर्गत मिडिया काउन्सिल, चलचित्र विकास बोर्ड, खेलकुद परिषद् जस्ता निकायमा गरिएको दुई दर्जनभन्दा बढी राजनीतिक नियुक्तिमा समेत जनमत पार्टीको उपेक्षा भएको दाबी गरेका छन्। “अन्य पार्टीहरूले भागबण्डा पाए, तर जनमत पार्टीबाट एउटा पनि नियुक्ति भएन,” उनले गुनासो गरे।

पार्टीकै नेतृत्वमा सरकार हुँदा पनि पार्टीको निर्देशन अवमूल्यन भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “सरकार सञ्चालनमा पार्टीको हस्तक्षेप नहुँदा कार्यकर्तामा आक्रोश हुनु स्वाभाविक हो।”

यस विषयमा पार्टीको संसदीय दल र सचिवालयमा छलफल भइरहेको जनाउँदै अध्यक्ष राउतले आवश्यक निर्णय चाँडै लिइने जानकारी दिए।

पार्टी कार्यकर्तालाई धैर्य गर्न आग्रह गर्दै उनले भने, “तपाईं जस्तै म पनि पीडित हुँ, तर पार्टी सदैव तपाईंहरूको साथमा छ र सधैं रहनेछ।”

प्रकाशित मिति: २०८२ असार ११, बुधबार २१:४३
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !