कर्जन्हालाई पर्यावरणमैत्री नमुना नगर बनाउन सकिन्छ : मन्त्री यादव

कर्जन्हालाई पर्यावरणमैत्री नमुना नगर बनाउन सकिन्छ : मन्त्री यादव
मधेशपत्र मधेशपत्र २०८२ असार १०, मंगलवार १५:३३
कर्जन्हालाई पर्यावरणमैत्री नमुना नगर बनाउन सकिन्छ : मन्त्री यादव

सिरहा : मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजयकुमार यादवले सिरहाको कर्जन्हा नगरपालिकालाई प्राकृतिक रूपमा अत्यन्तै धनी क्षेत्रको रूपमा वर्णन गरेका छन्।

कर्जन्हा नगरपालिकाको १५औं नगरसभामा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री यादवले यहाँको जैविक विविधता, हरियाली र वनसंपदा संरक्षण गर्न सके वातावरणीय सन्तुलन कायम राख्न ठूलो टेवा पुग्ने बताएका हुन्।

ADVERTISEMENT

‘कर्जन्हा प्राकृतिक स्रोत–साधनले भरिपूर्ण छ,’ मन्त्री यादवले भने, ‘यहाँको वन, जलस्रोत र हरित क्षेत्रलाई संरक्षण गर्दै समुचित विकास गर्न सकिएमा यो नगरपालिका मधेशकै नमुना पर्यावरणमैत्री क्षेत्र बन्न सक्छ।’

नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४२ करोड ९१ लाख ११ हजार २ सय ७१ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

नगर प्रमुख भोला प्रसाद पोखरेलको अध्यक्षतामा बसेको सभामा ‘समावेशी, स्वच्छ, हरियाली र समृद्ध कर्जन्हाको आधार : कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा दिगो पूर्वाधार’ भन्ने नाराका साथ उप–प्रमुख लक्ष्मी कुमारी श्रेष्ठले बजेट प्रस्तुतीकरण गरेकी हुन्।

बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ। नगर प्रमुख पोखरेलले बजेटलाई यथार्थपरक र विकासोन्मुख भएको भन्दै यसको सफल कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

बजेटका प्राथमिकताको क्षेत्रहरू

बजेटले सबै वडामा समान र समावेशी विकास सुनिश्चित गर्ने लक्ष्य लिएको छ। चालू तथा पूँजीगत खर्चलाई सन्तुलनमा राख्ने प्रयास गरिएको छ।

शिक्षा क्षेत्रमा नयाँ विद्यालय भवन निर्माण, शैक्षिक सामग्री वितरण तथा अनलाइन शिक्षामा पहुँच विस्तार गरिने योजना रहेको छ।

स्वास्थ्य क्षेत्रमा गर्भवती महिलाहरूलाई घुम्ती सेवा मार्फत अल्ट्रासाउन्ड, भिडियो एक्स–रे लगायतका सेवा उपलब्ध गराउने र नगरभित्रैको बर्थिङ्ग सेन्टरमा सुत्केरी गराउने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा निरन्तरता दिने योजना बजेटमा समावेश छ।

‘एक घर, एक धारा’ नीति कार्यान्वयनमा

‘एक घर, एक धारा’ अवधारणाअनुसार वडा नं. १ मा योजना पूर्ण कार्यान्वयन भइसकेको, वडा नं. २ मा निर्माणाधीन अवस्थामा रहेको तथा वडा नं. ४ मा स्रोत सुनिश्चित भइसकेको जनाइएको छ। बाँकी वडाहरूमा क्रमशः खानेपानीको धारा जडान गरिने योजना बजेटमा उल्लेख छ।

पूर्वाधार विकासतर्फ सडक, पुल, नाला तथा खानेपानी आयोजनामा लगानी बढाइनेछ। कृषि क्षेत्रमा किसानलाई मल, बीउ, प्रविधि तथा तालिमको सुविधा उपलब्ध गराइनेछ।

बजेट प्रभावकारी कार्यान्वयनमा जोड

उप–प्रमुख लक्ष्मी श्रेष्ठले बजेट कार्यक्रममार्फत समृद्ध र सुशासनयुक्त कर्जन्हा निर्माण गर्ने प्रतिबद्धता जनाइन्। बजेट नगरपालिकाको आर्थिक क्षमता, स्थानीय आवश्यकता र प्रदेश तथा संघीय सरकारका प्राथमिकताहरूलाई ध्यानमा राखी तयार गरिएको बताइन्।

कार्यक्रममा नगरवासी र सरोकारवालाहरूले बजेटलाई स्वागत गर्दै सही स्थानमा, सही समयमा खर्च गरिने सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार १५:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !