हनुमाननगरमा मुख्यमन्त्री सिंहले उद्घाटन गरेको ट्रान्सफर्मरमा तोडफोड

हनुमाननगरमा मुख्यमन्त्री सिंहले उद्घाटन गरेको ट्रान्सफर्मरमा तोडफोड
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ असार ९, सोमबार ०९:१०
हनुमाननगरमा मुख्यमन्त्री सिंहले उद्घाटन गरेको ट्रान्सफर्मरमा तोडफोड

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन गरेको कृषि सिँचाइ प्रयोजनको ट्रान्सफर्मर तोडफोड भएको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ जोगिनियामा जडान गरिएको उक्त ट्रान्सफर्मर शनिबार राति अज्ञात समूहले क्षति पु¥याएको हो।

ADVERTISEMENT

नगरपालिकाले कृषि विद्युतीकरण योजना अन्तर्गत जडान गरेको ट्रान्सफर्मर गत बुधबार मुख्यमन्त्री सिंहले उद्घाटन गरेका थिए। उद्घाटनसँगै सञ्चालनमा आएको ट्रान्सफर्मरमार्फत वडा नम्बर २, ५, ७ र ८ का कृषकहरूलाई निःशुल्क सिँचाइ सेवा दिइँदै आएको थियो।

नगरप्रमुख वीरेन्द्र माझीका अनुसार शनिबार राति कृषकहरूले राति १२ बजेसम्म सिँचाइ गरेका थिए। त्यसपछि ट्रान्सफर्मर तोडफोड गरिएको हुनसक्ने उनको अनुमान छ।

‘हामीले बिहान मात्रै घटनाबारे जानकारी पाएका हौँ,’ उनले भने, ‘ट्रान्सफर्मर तल फालिएको अवस्थामा फेला परेको छ र पूर्णरूपमा क्षति भएको छ।’

उक्त तोडफोडप्रति जनमत पार्टीका नेता तथा मधेश प्रदेशका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले आपत्ति जनाएका छन्। उनले किसानमैत्री योजनाबाट किसान लाभान्वित भइरहेको देखेर केही तत्व असहज भएको आरोप लगाए।

‘सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मरमा तोडफोड गर्ने जोसुकै भए पनि कानुनी कारबाही गर्नुपर्छ,’ मियाँले भने, ‘किसानको हितमा गरिएको काममाथि आक्रमण किसान विरोधी मानसिकताको प्रतिबिम्ब हो।’

उता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

‘ट्रान्सफर्मर तोडफोड कसले र किन गर्‍यो भन्नेबारे अनुसन्धान अगाडि बढेको छ,’ उनले भने, ‘दोषी पत्ता लगाएर कारबाही गर्छौं।’

प्रकाशित मिति: २०८२ असार ९, सोमबार ०९:१०
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !