बढ्दो गर्मीमा विद्युत कटौतीले जनजीवन कष्टकर, जनमत पार्टीद्वारा प्राधिकरणको ध्यानाकर्षण

बढ्दो गर्मीमा विद्युत कटौतीले जनजीवन कष्टकर, जनमत पार्टीद्वारा प्राधिकरणको ध्यानाकर्षण
मधेशपत्र मधेशपत्र २०८२ असार ६, शुक्रबार १६:३७
बढ्दो गर्मीमा विद्युत कटौतीले जनजीवन कष्टकर, जनमत पार्टीद्वारा प्राधिकरणको ध्यानाकर्षण

वीरगन्ज : चर्को गर्मी, बढ्दो तापक्रम र लगातारको विद्युत कटौतीले पर्सा जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। यस्तो बेला जनमत पार्टी, पर्सा जिल्ला समन्वय समितिले नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ।

शुक्रबार वितरण केन्द्रमा बुझाइएको ध्यानाकर्षण पत्रमा अनियमित विद्युत आपूर्ति, अत्यधिक पावर कट र भोल्टेज समस्या समाधानको माग गरिएको छ। पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, “गर्मीको तीव्रता बढेसँगै पर्सा जिल्लामा जनजीवन असहज बनेको छ। यस्तो अवस्थामा पनि विद्युत लाइनमा अत्यधिक पावर कट, भोल्टेज समस्या र अनियमित आपूर्तिले समस्या झनै बढाएको छ।”

ADVERTISEMENT

विद्युत आपूर्तिमा आएको समस्याले केवल घरायसी जीवन मात्र नभई कृषि तथा औद्योगिक क्षेत्रलाई समेत गम्भीर असर पारेको जनाइएको छ। “खेतीपातीको सिजनमा विद्युत आपूर्ति सहज नभएर सिँचाइमा समस्या देखिएको छ। उद्योग–धन्दा प्रभावित छन्। यस्तो अवस्थामा पनि प्राधिकरण गम्भीर नहुनु चिन्ताजनक छ,” पत्रमा उल्लेख छ।

पार्टीले तत्काल समस्या समाधान नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको छ। “विद्युत आपूर्तिमा सुधारको अनुभूति नभए हाम्रो पार्टी बाध्यतावश चरणबद्ध आन्दोलनमा उत्रिनेछ,” पत्रमा भनिएको छ। उक्त ध्यानाकर्षण पत्रको बोधार्थ नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय, काठमाडौंमा पनि पठाइएको छ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीको नेतृत्व जिल्ला अध्यक्ष सरार्फले गरेका थिए। टोलीमा केन्द्रीय सदस्य रम्भा मिस्रा, नजमा खातुन, महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, नगर सचिव लोकेश कर्ण, जिल्ला सदस्य नागेन्द्र यादव, ध्रुप महतो, महानगर युवा संयोजक संजय सिंह, युवा नेता धिरेन्द्र पन्जियार, सिकेन्द्र राम, मुना चौधरी र नितिम गिरिसहितको सहभागिता रहेको थियो।

 

प्रकाशित मिति: २०८२ असार ६, शुक्रबार १६:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !