सालको काठसहित दुईवटा पिकअप भ्यान सिरहा प्रहरीको नियन्त्रणमा

सालको काठसहित दुईवटा पिकअप भ्यान सिरहा प्रहरीको नियन्त्रणमा
मधेशपत्र मधेशपत्र २०८२ असार ५, बिहीबार १३:४९
सालको काठसहित दुईवटा पिकअप भ्यान सिरहा प्रहरीको नियन्त्रणमा

सिरहा : सिन्धुलीको जंगलबाट चोरी तस्करी गरी ल्याइरहेको सालको काठसहित दुईवटा पिकअप भ्यान सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ। गाडीसहित दुई जना चालक पक्राउ परेका छन्।

सिरहाको मिर्चैया नगरपालिका ७ फुलबरिया गाउँमा अवस्थित प्रहरी चेकपोष्टलाई छलेर भगाइएको पिकअप भ्यानलाई पिछा गर्दै रोकेर चेकजाँच गर्दा ती दुई गाडीबाट सालको काठ बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

ADVERTISEMENT

प्रहरीले नियन्त्रणमा लिएको दुई गाडी प्रदेश ३–००१ च –७१४४ र प्रदेश १ –००१ च ८५९५ रहेका छन्।

पक्राउ गरिएको गाडी र बरामद भएको काठ इलाका प्रहरी कार्यालय मिर्चैयाले मुचुल्कासहित डिभिजन वन कार्यालय लहानमा बुझाएको छ।

डिभिजनल वन कार्यालयले सुरुमा काठसहितको गाडी बुझ्न आनाकानी गरेपनि मिडियाहरुमा खबर सार्वजनिक भएपछि बुझिलिएको थियो।

पक्राउ परेको काठ गोलबजार नगरपालिका ४ स्थित गौरव समिलको रहेको मिल सञ्चालक करिया भन्ने श्याम गुप्ताले स्वीकार गरेका छन्। उनले भने,‘उक्त काठ मैले दाउराका लागि सिन्धुलीबाट खरिद गरेर ल्याएको हुँ।’

तर सालको काठ दाउरा हुने लायकको नभई चिरान र गोलिया साइजको रहेको छ। पक्राउ परेको काठको कटान आदेश, एक जिल्लाबाट अर्को जिल्ला लैजाने अनुमति केही कागजपत्र नभएको प्रहरीले जनाएको छ।

गौरव समिलका सञ्चालक काठ तस्करीमा बारम्वार पक्राउ पर्ने र वन कर्मचारीहरुसँग सेटिङ्गमा छुट्ने गरेका छन्।

यसअघि उनी २०८० कार्तिक १८ मा पनि प्रतिवन्धित करम जातको जंगली काठ २५० क्युबी फिटसहित पक्राउ परेका थिए। तर नियामक निकायलाई मिलाएर उनी रिहा भएका थिए।

सिरहा, सप्तरी उदयपुर र सिन्धुलीको जंगलबाट काठ तस्करी गरेर समिल चलाउनु उनको धन्दा नै बनेको छ। यस क्षेत्रमा श्याम गुप्तालाई वन विनाशक वा काठ तस्कर भनेर चिनिन्छ।

सालको अवैध काठसहित पक्राउ परेका गाडी तथा काठ छुटाउन ठूलो चलखेल हुन थालेको छ। राजनीतिक दलका नेता, सांसदहरु पनि गुप्ताको काठ तथा गाडी छुटाउन सिफारिस गरिरहेको वनका कनिष्ट कर्मचारीहरुले जानकारी दिएका छन्। अनुसन्धान अधिकृतलाई काठलाई दाउरा बनाएर मुद्दा हुलुका गराउने र छुटाउने प्रयास सुरु भएको छ।

प्रकाशित मिति: २०८२ असार ५, बिहीबार १३:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !