प्रविधिमैत्री बन्दै रौतहटको पर्यटन विकास कार्यालय, योजनाको डिजिटल प्रोफाइलमार्फत छरितो सेवा प्रवाह

प्रविधिमैत्री बन्दै रौतहटको पर्यटन विकास कार्यालय, योजनाको डिजिटल प्रोफाइलमार्फत छरितो सेवा प्रवाह
मधेशपत्र मधेशपत्र २०८२ असार ४, बुधबार १६:०९
प्रविधिमैत्री बन्दै रौतहटको पर्यटन विकास कार्यालय, योजनाको डिजिटल प्रोफाइलमार्फत छरितो सेवा प्रवाह

रौतहट : पर्यटन क्षेत्रको पूर्वाधार निर्माण तथा प्रवर्द्धनमा समर्पित रौतहटको पर्यटन विकास कार्यालय पछिल्लो समय प्रविधिमैत्री बन्दै गएको छ। कार्यालयले सेवाको प्रभावकारिता, पारदर्शिता र सुरक्षा अभिवृद्धिका लागि सूचना प्रविधिको व्यापक प्रयोग थालेको छ।

मधेशप्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विकास कार्यालयले योजना सञ्चालन, अनुगमन, अभिलेखीकरण र सिफारिस प्रक्रियालाई डिजिटल प्रणालीमा रुपान्तरण गर्दै गएको छ। कार्यालय प्रमुख राजेश काफ्लेका अनुसार कागजात हराउने, बाढी वा अन्य प्राकृतिक विपत्तिका कारण नष्ट हुने वा खोज्न समय लाग्ने समस्याबाट बच्न योजनाको डिजिटल प्रोफाइल तयार पार्ने निर्णय गरिएको हो।

ADVERTISEMENT

योजनाको डिजिटल प्रोफाइल, क्यूआर चिन्हमार्फत पहुँच

कार्यालयले अहिले सञ्चालनमा रहेका प्रत्येक योजनाको डिजिटल प्रोफाइल निर्माण गरिरहेको छ। हरेक योजनासम्बन्धी आवश्यक कागजात, प्रगति विवरण, भुक्तानी अभिलेख लगायतका विवरण उक्त प्रोफाइलमा समेटिनेछन्।

“अब प्रत्येक योजनाको आफ्नो डिजिटल विवरण हुनेछ,” कार्यालय प्रमुख काफ्ले भन्छन्, “त्यो विवरण हेर्नका लागि केवल क्यूआर चिन्ह स्क्यान गर्नुपर्नेछ। यसले सेवाग्राहीका लागि सहजता ल्याउनेछ, र कार्यालयका कर्मचारीका लागि खोजी गर्न समय खर्चिनु पर्ने अवस्थाको अन्त्य हुनेछ।”

१५९ योजना सञ्चालनमा, दुई अवरुद्ध

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयमार्फत उपभोक्ता समिति र ठेक्का प्रणालीमार्फत गरी कुल १५९ योजना सञ्चालनमा छन्। तीमध्ये १३० वटा योजना उपभोक्ता समितिमार्फत र २९ वटा ठेक्कामार्फत सञ्चालनमा रहेको कार्यालयले जनाएको छ।

हाल एक योजनामा न्यायिक प्रकृया चलिरहेको र अर्को योजना सागरनाथ वन परियोजना क्षेत्रभित्र परेकाले निर्माण कार्य अघि बढ्न सकेको छैन।

रौतहट र सर्लाही गरी दुई जिल्लामा कार्यक्षेत्र फैलिएको पर्यटन विकास कार्यालयले धार्मिक, सांस्कृतिक, सामाजिक तथा पर्यटकीय संरचनाको निर्माणमा प्राथमिकता दिएको छ।

मठ–मन्दिरदेखि बाल उद्यानसम्म

कार्यालयले चालु आर्थिक वर्षमा मठ, मन्दिर, मस्जिद, मदरसा, गुम्बा, छठघाट, कब्रिस्तान, शमशान घाट, पार्क, स्वागतद्वार, पार्किङ, धर्मशाला, विवाहमण्डप, संग्रहालय र बालउद्यानको निर्माण तथा स्तरोन्नतिको काम अघि बढाएको छ।

साथै प्रत्येक योजनामा जानकारी बोर्ड राख्ने र बीमा गराउने कार्यसमेत अनिवार्य गरिएको छ।

ह्वाट्सएपबाटै कागजात आदानप्रदान

कार्यालयका लेखा अधिकृत सुदीप गौतमका अनुसार अब उपभोक्ता समितिलाई सेवा लिन कार्यालय धाउनु नपर्ने व्यवस्था गरिएको छ। बैंक खाता खोल्न चाहिने सिफारिस, भुक्तानीसम्बन्धी कागजात, सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षणसम्बन्धी सूचिहरू समेत ह्वाट्सएपमार्फत पठाइने गरिएको छ।

“पहिले समितिका प्रतिनिधि कार्यालयमा आउनुपर्ने हुन्थ्यो,” गौतम भन्छन्, “अब त उनीहरूले मोबाइलमार्फतै आवश्यक कागजात पठाउँछन् र हामी पनि त्यही माध्यमबाट सिफारिस वा अन्य जानकारी पठाउँछौं।”

यसले समय, यात्रा खर्च र कार्यालयको चाप घटाएको छ भने समितिहरूलाई कामको गुणस्तरमा ध्यान दिन सक्ने अवसर दिएको छ।

प्रविधिमार्फत योजना अनुगमन

कार्यालयले योजनाको अनुगमनलाई समेत प्रविधिमैत्री बनाएको छ। निर्माण कार्यको गुणस्तर मापनका लागि आरसीसी तथा पिसीसी ढलान कार्यमा अनिवार्य प्रयोगशाला परीक्षण गरिन्छ।

त्यस्तै योजना अनुगमनमा स्थान पहिचान उपकरण अर्थात् जिपिएस नक्शा क्यामेरा को प्रयोग गरिन्छ। यसबाट योजनाको स्थान, अवलोकनको मिति र समय स्पष्ट हुने भएकाले केवल योजनाको अवस्था मात्र होइन, त्यसमा संलग्न प्राविधिकको समेत गतिविधि देख्न सकिने भएको छ।

कार्यालय प्रमुख काफ्ले स्वयं योजना अनुगमनका क्रममा नेपाल–भारत सीमा स्तम्भ संख्या ३३२ देखि ३३९ सम्म पुगेका थिए।

उपभोक्ता समितिको अनुभव : गुणस्तरमा फोकस

नुनथर पर्यटकीय पूर्वाधार योजनाका उपभोक्ता समिति अध्यक्ष भरत प्रसाद पुडासैनीका अनुसार प्रविधिको प्रयोगपछि कार्यालय पुग्नुपर्ने झन्झट हटेको छ।

“हामीले अब कार्यालय धाउनु पर्दैन,” उनी भन्छन्, “फोन, सन्देश वा डिजिटल माध्यमबाट सबै प्रक्रिया हुन्छ। यसले उपभोक्ता समितिलाई योजना सञ्चालनभन्दा पनि गुणस्तरीय काममा केन्द्रित हुन सक्ने वातावरण बनाएको छ।”

दूरदराजका समितिलाई विशेष सहजता

कार्यालयले सर्लाहीका दूरदराजका उपभोक्ता समितिका लागि समेत सुविधा पुगेको जनाएको छ। पहिले सामान्य सिफारिसका लागि समेत गाैर वा चन्द्रनिगाहपुर पुग्नुपर्ने बाध्यता हटेकाले समय, यातायात खर्च र मेहेनत सबै बचत भएको छ।

“सिफारिस लिन गाडीको भाडा तिर्नु पर्ने, एक जना दिनभर काम छोडेर जानुपर्ने अवस्था हटेको छ,” एक स्थानीय समितिका सदस्यले भने, “अब हाम्रो ध्यान केवल योजनालाई कसरी छिटो र राम्रो बनाउने भन्नेमा केन्द्रित छ।”

प्रविधिमैत्री अभ्यासको उदाहरणीय मोडल

रौतहटको पर्यटन विकास कार्यालयले प्रविधिको प्रयोग गरेर कार्यालयको सेवा सञ्चालन र योजनाको सम्पादनलाई व्यवस्थित बनाउन गरेको प्रयास उदाहरणीय बन्न थालेको छ। डिजिटल प्रणालीको स्थायीत्व र स्तरोन्नति भने अबको मुख्य चुनौतीको रूपमा देखिएको छ।

कार्यालयले भविष्यमा अझै उन्नत प्रविधिको प्रयोग गर्दै योजनाको प्रत्यक्ष निगरानी, स्वचालित मूल्यांकन प्रणाली, डिजिटल हस्ताक्षर, मोबाइल अनुप्रयोग विकास लगायतका अभ्यास सुरु गर्ने तयारी गरेको छ।

“हामी प्रविधिको प्रयोगलाई अझै व्यवस्थित बनाउँदै लैजाने तयारीमा छौं,” प्रमुख काफ्ले भन्छन्, “नागरिकलाई सेवा लिन सहज बनाउनु हाम्रो उद्देश्य हो, प्रविधिले त्यसलाई सम्भव बनाइदिएको छ।”

प्रकाशित मिति: २०८२ असार ४, बुधबार १६:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !