सप्तरीमा थ्री फेज कृषी विद्युतिकरण, मुख्यमन्त्री सिंहले गरे शुभारम्भ

सप्तरीमा थ्री फेज कृषी विद्युतिकरण, मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
मधेशपत्र मधेशपत्र २०८२ असार ४, बुधबार १५:४०
सप्तरीमा थ्री फेज कृषी विद्युतिकरण, मुख्यमन्त्री सिंहले गरे शुभारम्भ

सप्तरी : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ मा ‘थ्री फेज कृषी विद्युतिकरण’ कार्यको शुभारम्भ गरेका छन्।

बुधवार आयोजित कार्यक्रममा उनले कृषि क्षेत्रको समृद्धिका लागि सिंचाइको सुविधा अनिवार्य रहेको भन्दै प्रदेश सरकारले यस्ता योजनालाई प्राथमिकता दिएको उल्लेख गरे। “हामी कृषिमा आत्मनिर्भर बन्न चाहन्छौं,” मुख्यमन्त्री सिंहले भने, “त्यसका लागि सिँचाइ, मल, बीउ, प्रविधि र बजारको सुनिश्चितता जरुरी छ। यस्ता कार्यक्रमहरूले त्यसको जग तयार गर्छ।”

ADVERTISEMENT

नगरपालिकाको पहलमा सुरु गरिएको यो योजनाबाट वडाहरू २, ५, ६, ७ र ८ का हजारौं किसान लाभान्वित हुने अपेक्षा गरिएको छ। थ्री फेज विद्युतिकरणपछि किसानहरूले सिंचाइका लागि अब डिजेलपम्प प्रयोग गर्नुपर्ने बाध्यता हट्नेछ।

हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीका अनुसार किसानलाई सिंचाइमा प्रयोग हुने विद्युतको महसुल नगरपालिकाले नै बेहोर्नेछ। “हामीले किसानको आर्थिक बोझ कम गर्न यो निर्णय गरेका हौं,” नगरप्रमुख माझीले भने, “विद्युतीय मोटरमार्फत सिंचाइ गर्न सक्ने भएपछि उत्पादनमा पनि वृद्धि हुने विश्वास छ।”

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, किसान, प्राविधिक र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। आयोजनाको समन्वय नगरपालिकाको कृषि शाखाले गरेको हो।

थ्री फेज विद्युतिकरणले कृषि क्षेत्रमा सस्तो, भरपर्दो र दिगो सिंचाइ सुविधा सुनिश्चित गर्ने विश्वास लिइएको छ। प्राविधिकहरूका अनुसार यो योजनाले उत्पादन लागत घटाउने र समयमै पानी उपलब्ध गराउने भएकाले कृषिमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ असार ४, बुधबार १५:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !