चुरे क्षेत्र प्राकृतिक जल ट्यांकी हो, विनाशले मधेशमा पानी संकट निम्तिन्छ : मन्त्री यादव

चुरे क्षेत्र प्राकृतिक जल ट्यांकी हो, विनाशले मधेशमा पानी संकट निम्तिन्छ : मन्त्री यादव
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ असार २, सोमबार ११:३३
चुरे क्षेत्र प्राकृतिक जल ट्यांकी हो, विनाशले मधेशमा पानी संकट निम्तिन्छ : मन्त्री यादव

जनकपुरधाम : मधेश प्रदेश वन तथा वातावरणमन्त्री संजय कुमार यादवले चुरे क्षेत्रलाई ‘प्राकृतिक जल ट्यांकी’ को संज्ञा दिँदै यसको विनाशले मधेशमा पानीको संकट निम्तिने खतरा रहेको बताएका छन्।

सोमबार ‘चुरे संरक्षण दिवस’को अवसर पारेर धनुषाको मिथिला नगरपालिका–७ स्थित केम्लिपुए सामुदायिक बन उपभोक्ता समितिको वन क्षेत्रमा आयोजित वृक्षारोपण कार्यक्रममा उनले चुरे संरक्षणलाई दीर्घकालीन दिगो विकासको आधारका रूपमा जोड दिए।

ADVERTISEMENT

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ नारासहित आयोजित कार्यक्रममा मन्त्री यादवले भने, “वृक्षारोपणजस्ता प्रयासबाट भू–क्षय नियन्त्रण, भूमिगत जल स्रोतको पुनर्भरण र प्राकृतिक स्रोतको संरक्षणमा महत्वपूर्ण योगदान पुग्छ। चुरे क्षेत्र विनाश भए मधेशमै पानीको संकट गहिरिनेछ।”

कार्यक्रममा मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजनामा २५ सय विरुवा रोपिएको थियो। मन्त्री यादवले स्वयं विरुवा रोपेर अभियानको उद्घाटन गरेका थिए।

कार्यक्रममा मन्त्रालयका सचिव उद्धव प्रसाद घिमिरे, वन डिभिजन कार्यालय जनकपुरका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति सदस्यलगायतको उपस्थिति थियो।

कार्यक्रममार्फत चुरे क्षेत्रको जैविक विविधता संरक्षण र भू–क्षय नियन्त्रणमा वृक्षारोपणको महत्वमाथि जोड दिइएको थियो। मन्त्री यादवले चुरे जोगाउन सामूहिक सहभागिता र जनचेतना अपरिहार्य रहेको धारणा राखे।

प्रकाशित मिति: २०८२ असार २, सोमबार ११:३३
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !