“चुरे जोगाउ, मधेश बचाउ” अभियानलाई प्राथमिकता, जलाधार संरक्षणमा जोड

“चुरे जोगाउ, मधेश बचाउ” अभियानलाई प्राथमिकता, जलाधार संरक्षणमा जोड
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार २१:४५
“चुरे जोगाउ, मधेश बचाउ” अभियानलाई प्राथमिकता, जलाधार संरक्षणमा जोड

जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि वन तथा वातावरण मन्त्रालयको तर्फ कुल २ अर्ब ३७ करोड ५६ लाख ३८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

आइतबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सुनिल कुमार यादवले जलवायु सन्तुलन, वन संरक्षण, सिमसार व्यवस्थापन र हरित अभियानका कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए।

ADVERTISEMENT

‘चुरे जोगाउ, मधेश बचाउ’ अभियानलाई मूर्तरूप दिन उपल्लो र तल्लो तटीय क्षेत्रको समन्वयमा जलचक्र सन्तुलनका लागि एकीकृत जलाधार कार्यक्रम सञ्चालन गरिने उनले बताए। जलाधार संरक्षण, पानी पुनःभरण, शहरी जल व्यवस्थापन तथा सांस्कृतिक नदीनालाको प्राकृतिक बहाव पुनर्स्थापनाका लागि पनि पर्याप्त बजेट छुट्याइएको छ।

चुरे क्षेत्रको मरुभूमीकरण रोक्न नदीजन्य पदार्थको वातावरणमैत्री उत्खनन, प्रशोधन तथा निर्यातका लागि नीति संवाद अघि बढाइनेछ। वन्यजन्तु द्वन्द्व, बाढी, पहिरो र जलवायुजन्य विपद्का पीडितलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन बजेट विनियोजन गरिएको छ।

कार्बन सञ्चय प्रवर्द्धन गर्न सार्वजनिक स्थान, सडक किनार, विद्यालय तथा अस्पताल क्षेत्रहरूमा वृक्षारोपण गरिनेछ। ‘हरित मधेश अभियान’लाई मूर्तरूप दिन र ‘एक व्यक्ति, एक बिरुवा’ कार्यक्रमलाई निरन्तरता दिन प्रचारप्रसारमा समेत बजेट छुट्याइएको छ। निजी नर्सरीहरूलाई बिरुवा उत्पादन तथा वितरणमा प्रोत्साहन दिइनेछ।

निजी, सार्वजनिक तथा राष्ट्रिय वनको दिगो व्यवस्थापनमार्फत रोजगारी सिर्जना र जैविक मलको प्रयोगमा आधारित वृक्षारोपण र नर्सरी प्रवर्द्धनका कार्यक्रम संचालन गरिनेछन्।

‘समृद्धिका लागि वन’ कार्यक्रममार्फत वनजन्य उद्यमशीलताको विकास र आय आर्जनका अवसरहरू सिर्जना गरिने उनले बताए। रैथाने तथा लोपोन्मुख वनस्पतिको संरक्षण र प्रवर्द्धन गर्दै जैविक विविधता संरक्षणका लागि हटस्पट क्षेत्र व्यवस्थापन र मधेश वनस्पति तथा प्राणी उद्यान निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ।

मानव र वन्यजन्तुबीच सहअस्तित्व सुनिश्चित गर्न जैविक मार्गको व्यवस्थापन र क्षति न्यूनीकरणका कार्यक्रम पनि अघि बढाइने अर्थमन्त्री यादवले स्पष्ट पारे।

प्रकाशित मिति: २०८२ असार १, आईतवार २१:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !