धनुषामा गर्मीसँगै वर्षाका कारण सर्पदंशका बिरामी बढ्दै

धनुषामा गर्मीसँगै वर्षाका कारण सर्पदंशका बिरामी बढ्दै
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ जेष्ठ २७, मंगलवार १३:०३
धनुषामा गर्मीसँगै वर्षाका कारण सर्पदंशका बिरामी बढ्दै

जनकपुरधाम : पछिल्लो केही दिनयता बढेको गर्मी र बेमौसमी वर्षासँगै धनुषामा सर्पदंशका घटनामा वृद्धि हुन थालेको छ। जिल्लाको धारापानीस्थित धनुषाधाम सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढिरहेको उपचार केन्द्रका चिकित्सक केशवबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार चालु वर्षको सुरुवातमै अघिल्ला वर्षको तुलनामा सर्पदंशका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। “गत वर्षको एक वर्षे अवधिमा २१० जना बिरामीको उपचार गरिएको थियो भने, चालु आर्थिक वर्षको वैशाख महिनादेखि हालसम्म २४ जना सर्पदंशका बिरामी आइसकेका छन्,” चिकित्सक खत्रीले बताए।

ADVERTISEMENT

उनले विशेषगरी ग्रामीण भेगका बिरामी उपचारका लागि आउने गरेको उल्लेख गर्दै उपचार केन्द्रमा अत्यावश्यक उपकरणको अभाव रहेको गुनासो गरे। “यहाँ पर्याप्त बेड भए पनि भेन्टिलेटरको चरम अभाव छ। अहिले एक मात्र भाइटल मोनिटर छ। कहिलेकाहीँ एकै पटक दुई–तीन जना गम्भीर बिरामी आउँदा उपचारमा कठिनाइ हुन्छ,” उनले भने।

विषालु सर्पले टोकेको अवस्थामा बिरामीलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले भेन्टिलेटर र आइसियु अनिवार्य हुने चिकित्सक खत्रीको भनाइ छ। तर ती सेवा धनुषाधाम अस्पतालमा उपलब्ध छैनन्।

त्यस्तै, सखुवा महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पनि बिरामीको चाप बढिरहेको छ। त्यहाँका चिकित्सक भुवन कुँवरका अनुसार, आर्थिक वर्ष २०८१ मा सर्प र बिच्छीको डसाइबाट २७० जना बिरामी उपचारमा आएका थिए भने चालु वर्षको वैशाखदेखि हालसम्म ३८ जना सर्पदंशका बिरामी आएका छन्।

मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष तथा सर्प उद्धारकर्ता देवनारायण मण्डलले गर्मी र वर्षाको समय अझै बाँकी रहेकाले सर्पदंशका घटना थप बढ्न सक्ने बताएका छन्। “गर्मी सुरु भएसँगै वर्षा भएपछि सर्पहरू दुलो छाडेर बाहिर निस्कन थाल्छन्। चिसोमा लुकेर बस्ने सर्पहरू दुलोमा पानी भरिँदा र खानाको खोजीमा बाहिर आउने गर्छन्,” मण्डलले भने।

उनका अनुसार खेत, बारी, गोठ, झारपातले ढाकिएका आँगन, खरको छानो लगायतका स्थानमा सर्प लुकेर बस्ने भएकाले बस्ती क्षेत्रमा विशेष सतर्कता अपनाउन आवश्यक छ। “हामीले नियमित रूपमा सचेतना अभियान सञ्चालन गर्दै आएका छौं। घर वरिपरि सफा राख्न, उज्यालो बिना रातमा नहिँड्न, सुत्ने ओछ्यान अग्लोमा राख्नजस्ता सावधानी अपनाउन आग्रह गरेका छौं,” मण्डलले बताए।

प्रकाशित मिति: २०८२ जेष्ठ २७, मंगलवार १३:०३

तपाईको प्रतिक्रिया !