अबको मधेश आत्मनिर्भर र उद्यमशील बन्छ : मन्त्री कुशवाहा

अबको मधेश आत्मनिर्भर र उद्यमशील बन्छ : मन्त्री कुशवाहा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २५, आईतवार ०८:३७
अबको मधेश आत्मनिर्भर र उद्यमशील बन्छ : मन्त्री कुशवाहा

जनकपुरधाम : मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री इन्जिनियर बसन्त कुशवाहाले प्रदेशमा उद्योगीकरण र पर्यटन क्षेत्रको विकासमार्फत आमूल परिवर्तन ल्याइने बताएका छन्।

मधेश सरकारले सार्वजनिक गरेको “एक लाख रोजगारी सिर्जना” गर्ने ऐतिहासिक नीति कार्यक्रमपछि सेतोपाटीसँगको कुराकानीमा मन्त्री कुशवाहाले मधेश अब आत्मनिर्भर, उद्यमशील र रोजगारी उत्पादन गर्ने केन्द्रका रूपमा अगाडि बढ्ने बताए।

ADVERTISEMENT

“मधेश अब केवल उपेक्षित प्रदेश होइन, अबको मधेश आत्मनिर्भर, उद्यमशील र रोजगारी उत्पादन गर्ने केन्द्र बन्दैछ,” मन्त्री कुशवाहाले भने, “उद्योग र पर्यटनको माध्यमबाट आर्थिक रूपान्तरणको स्पष्ट खाका तयार पारिएको छ।”

उनका अनुसार मधेशका विभिन्न स्थानमा औद्योगिक ग्राम स्थापना गरिनेछ। स्थानीय कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना, विदेशी पर्यटक भित्र्याउने योजना, तथा धार्मिक र सांस्कृतिक सम्पदाको प्रचारप्रसारमार्फत पर्यटन प्रवर्द्धन गरिनेछ।

भारतको अयोध्यासँग धार्मिक सम्बन्ध जोड्दै मधेशका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गरिने मन्त्री कुशवाहाको भनाइ छ। “भारतमा दैनिक करोडौँ पर्यटक जाने गरेका छन्। त्यसमध्ये १ प्रतिशत पनि मधेश ल्याउन सकियो भने यहाँको आर्थिक विकासमा ठूलो टेको पुग्छ,” उनले भने।

मन्त्री कुशवाहाले स्थानीय स्रोतको उपयोग, सहकारी तथा निजी क्षेत्रको सहकार्यमा स्थायी औद्योगिक पूर्वाधार निर्माण गरिने जानकारी दिए।

धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिएको मधेशमा पर्यटनलाई व्यवसायिक बनाउने तयारी भइरहेको उनले बताए। जनकपुर, गढीमाई, थारु बस्ती, सप्तकोशीलगायतका क्षेत्रहरूमा गन्तव्य पर्यटनको विकास गरिनेछ।

त्यसका लागि पर्यटक मार्ग निर्माण, होमस्टे व्यवसायको प्रवर्द्धन, तथा स्थानीय गाइडलाई तालिम दिने कार्यक्रम ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

“अब भाषण दिने समय सकियो, अब जनताले देख्ने र महसुस गर्ने खालका काम गरिन्छन्,” मन्त्री कुशवाहाले भने, “उद्योग तथा पर्यटन क्षेत्रबाट रोजगारी सिर्जना, स्थानीय आर्थिक चक्रमा गतिशीलता, र स्थानीय उत्पादनको बजार सुनिश्चितता हाम्रो मुख्य लक्ष्य हो।”

प्रकाशित मिति: २०८२ जेष्ठ २५, आईतवार ०८:३७

तपाईको प्रतिक्रिया !