‘प्लास्टिक प्रदूषण हटाऔँ’ मूल नारासहित जनकपुरधाममा वृक्षारोपण, गाछी पुनःस्थापनाको प्रयास

‘प्लास्टिक प्रदूषण हटाऔँ’ मूल नारासहित जनकपुरधाममा वृक्षारोपण, गाछी पुनःस्थापनाको प्रयास
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ २२, बिहीबार २३:४४
‘प्लास्टिक प्रदूषण हटाऔँ’ मूल नारासहित जनकपुरधाममा वृक्षारोपण, गाछी पुनःस्थापनाको प्रयास

जनकपुरधाम : ‘प्लास्टिक प्रदूषण हटाऔँ’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व वातावरण दिवस बिहीबार विश्वभर विविध कार्यक्रमका साथ मनाइँदै छ। सोही अवसरमा जनकपुरधाम उपमहानगरपालिका–४ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय युवा तथा वडाका जनप्रतिनिधिहरूको सक्रियतामा आयोजना गरिएको कार्यक्रममा उपमहानगर प्रमुख मनोजकुमार साह, प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, प्रदेश वन निर्देशनालयअन्तर्गत समृद्धिको लागि वन परियोजना मधेश प्रदेशका संयोजक सुजीतकुमार झा, उपमहानगरको वन तथा वातावरण शाखा प्रमुख सुभाष शर्मा, धनुषा डिभिजनकी वन अधिकृत शालिनी साहलगायतको उपस्थिति थियो।

ADVERTISEMENT

वडा नं. ४ का वडासदस्य प्रसन्न झाको नेतृत्वमा आयोजित कार्यक्रममा आँप, गोल्डमोहर, जाकाराण्डा, जामुनजस्ता जातका ६०० बिरुवा रोपिएको उपमहानगरले जानकारी दिएको छ। गाछी पुनःस्थापनाको अभियानस्वरूप गरिएको वृक्षारोपणमा सहभागीहरूले ऐतिहासिक तिरहुतिया गाछी क्षेत्रलाई पुनर्जीवित गर्ने उद्देश्य रहेको बताएका छन्।

इतिहास बोकेको गाछी

जनकपुरधामको मुटुमा अवस्थित ऐतिहासिक तिरहुतिया गाछी कुनै समय मुरलीचोकदेखि कदमचोक, शुक्रबारी हटियाबाट रामचोकसम्म फैलिएको थियो। तर सहरीकरण र बिस्तारसँगै अतिक्रमण बढ्दै गएपछि अहिले उक्त गाछी साढे चार बिघामा मात्र सिमित भएको छ।

हाल उक्त क्षेत्रभित्र जिल्ला अदालत, पुनरावेदन अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्र बैंक, महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रसहित सरकारी निकायका भवनहरू निर्माण गरिएका छन्। यसले वातावरणीय सन्तुलन र हरियाली संरक्षणमा चुनौती थपेको स्थानीयवासीहरूको भनाइ छ।

वृक्षारोपण कार्यक्रममा सहभागी वक्ताहरूले गाछी क्षेत्रको ऐतिहासिक महत्वका साथै वातावरणीय दृष्टिले त्यसको पुनसंरचना अपरिहार्य रहेको उल्लेख गरेका थिए। उनीहरूले नगरवासीलाई संरक्षण तथा गाछीको सम्वर्द्धनमा सहकार्य गर्न आह्वान पनि गरे।

प्रकाशित मिति: २०८२ जेष्ठ २२, बिहीबार २३:४४

तपाईको प्रतिक्रिया !