कमला पुल निर्माणमा बजेट समावेश गर्न जनमत दलका नेता यादवलाई ध्यानाकर्षण पत्र

कमला पुल निर्माणमा बजेट समावेश गर्न जनमत दलका नेता यादवलाई ध्यानाकर्षण पत्र
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ जेष्ठ २१, बुधबार १३:३४
कमला पुल निर्माणमा बजेट समावेश गर्न जनमत दलका नेता यादवलाई ध्यानाकर्षण पत्र

जनकपुरधाम : नयाँ कमला पुल निर्माण संघर्ष समिति, सिरहा–धनुषाका संयोजक प्रविन मोरबैताले पुल निर्माणका लागि नीति तथा कार्यक्रममा बजेट समावेश गर्न माग गर्दै जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

बुधबार मधेश प्रदेश सभाभित्र रहेको जनमत पार्टी संसदीय दलको कार्यालयमा नेता यादवलाई भेट्दै मोरबैताले सिरहा–धनुषा सीमास्थित कमला नदीमा नयाँ पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गराउन अनुरोध गरेका हुन्।

ADVERTISEMENT

गत वर्ष साउन महिनामा भएको चार बुँदे सम्झौताअनुसार हुलाकी सडकभन्दा अलग स्थानमा नयाँ कमला पुल निर्माण गर्ने सहमति भएको थियो। सोही सम्झौता बमोजिम प्रदेश सरकारले पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरिसकेको छ।

तर हालै संघ सरकारले सार्वजनिक गरेको बजेटमा कमला पुल निर्माणका लागि कुनै रकम विनियोजन नगरिएको भन्दै संघर्ष समितिले आपत्ति जनाएको छ। संघीय सरकारले चासो नदिएको अवस्थामा प्रदेश सरकारले नै चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा रकम समेटेर निर्माण प्रक्रिया अघि बढाउनुपर्ने संघर्ष समितिको माग छ।

संघर्ष समितिका संयोजक मोरबैताले पुल निर्माणको ढिलाइले स्थानीयवासीले दैनिक रूपमा सास्ती भोग्नुपरेको भन्दै समयमै बजेट सुनिश्चित गर्न प्रदेश सरकारसँग जोडदार माग गरेका छन्।

उनले भने, “कमला पुल निर्माण क्षेत्रको दीर्घकालीन आवश्यकता हो। संघीय सरकारले नजरअन्दाज गरे पनि प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट सुनिश्चित गर्नुपर्छ।”

प्रकाशित मिति: २०८२ जेष्ठ २१, बुधबार १३:३४

तपाईको प्रतिक्रिया !