बलराम महतोका छोरा पवन पक्राउ, उनी र अर्का छोरा रमन फरार

बलराम महतोका छोरा पवन पक्राउ, उनी र अर्का छोरा रमन फरार
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ २१, बुधबार ०९:५२
बलराम महतोका छोरा पवन पक्राउ, उनी र अर्का छोरा रमन फरार

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा आर्थिक विभाग प्रमुख बलराम महतोका छोरा पवन महतो पक्राउ परेका छन् भने बलराम स्वयं र उनका अर्का छोरा रमन महतो फरार छन्।

मंगलबार काठमाडौंबाट पक्राउ परेका पवन महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिम्मा लगाइएको छ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान तथा कारबाही शाखाले बलराम महतोविरुद्ध ठगी मुद्दामा पक्राउ पूर्जी जारी गरेको थियो। सोही आधारमा उनका छोरा पवन महतो पक्राउ परेका हुन्।

बलराम महतोमाथि जनकपुरधाम उपमहानगरपालिका–४ का विष्णुदेव यादवका छोरा सन्तोषकुमार यादवले बैंकिङ्गसम्बन्धी कसुरमा उजुरी दिएका थिए। उजुरीका आधारमा सुरु भएको अनुसन्धानपछि बलराम महतो र उनका छोरा रमन हाल फरार रहेका प्रहरीले जनाएको छ।

स्रोतका अनुसार सन्तोषकुमार यादव र बलराम महतोबीच विगतमा करिब २५ करोड रुपैयाँ बराबरको व्यावसायिक कारोबार भएको थियो। तर, बलरामले तीमध्ये आफूले ८ करोड रुपैयाँ मात्र तिर्नुपर्ने दाबी गर्दै बाँकी रकम दिन अस्वीकार गरेपछि कानुनी विवाद चर्किएको थियो।

सन्तोष यादवले अदालतमा मुद्दा दायर गरेपछि अनुसन्धान प्रक्रिया अघि बढेको थियो। सोही मुद्दामा पुनरावेदन अदालतले बलराम महतो दोषी ठहर गरेको छ। अदालतको फैसला आएपछि महतो सम्पर्कविहीन भएका हुन्।

प्रहरी स्रोतका अनुसार २०८१ साल चैत २१ गते पुनरावेदन अदालतको फैसला आएपछि बलराम महतो फरार भएका हुन्। हाल उनले फोनसमेत अफ गरेका छन्। प्रहरीका अनुसार उनलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको छ।

बलराम महतो धनुषाको साविक रघुनाथपुर गाविस–४ (हाल सवैला नगरपालिका–१२) का स्थायी बासिन्दा हुन्। हाल उनी जनकपुरधाम उपमहानगरपालिका–१३ मा बसोबास गर्दै आएका छन्। उनी ‘रमण कन्ट्रक्सन’का सञ्चालकसमेत हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख उपरीक्षक नरहरी रेग्मीले पक्राउ गरेको स्वीकार गरेका छन् ।उनलाई आवश्यक कार्वाहीको लागि अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले बताएका हुन् ।

यसैबीच, गत चैत २९ गते नै बलराम महतो र उनका छोरा रमनविरुद्ध औपचारिक रूपमा पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २१, बुधबार ०९:५२

तपाईको प्रतिक्रिया !