कम स्रोत र साधनमा पनि नेपाली सेनाको उत्कृष्ट कार्य : मुख्यमन्त्री सिंह

कम स्रोत र साधनमा पनि नेपाली सेनाको उत्कृष्ट कार्य : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १९, सोमबार १४:१२
कम स्रोत र साधनमा पनि नेपाली सेनाको उत्कृष्ट कार्य : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कम स्रोत र साधनमै पनि नेपाली सेनाले विपद् व्यवस्थापनदेखि शान्ति सुरक्षासम्मका क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेको बताएका छन्।

सोमबार नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, बर्दिवासद्वारा रौतहटको चन्द्रपुर नगरपालिका–१० नुनथरस्थित बागमती नदी किनारमा आयोजित ‘हातेमालो’ अभ्यासको सातौं संस्करणलाई सम्बोधन गर्दै उनले सेनाको योगदानको प्रशंसा गरेका हुन्।

ADVERTISEMENT

‘सीमित स्रोतसाधनबीच पनि नेपाली सेनाले देखाएको तत्परताले हाम्रो विश्वास बढाएको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘शान्ति सुरक्षामा सेनाको भूमिकालाई अझ प्रभावकारी बनाउन प्रदेश सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नेछ।’

उनले प्रदेश सरकार सधैं सेनासँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनजस्ता क्षेत्रमा संघीय सरकारसँग पनि आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। ‘राष्ट्रिय सुरक्षामा सेनाको योगदान उच्च छ,’ उनले भने, ‘हामी संघीय सरकारसँग पनि समन्वय गरी सेना र सुरक्षानिकायलाई अझ सशक्त बनाउनेछौं।’

कार्यक्रममा नेपाली सेनाले विपद् प्रतिकार्यका क्रममा उद्धार, राहत र समन्वयको अभ्यास प्रदर्शन गरेको थियो।

मधेश सरकारका भूमी वयवस्था ,कृषि तथा सहकारी मन्त्री जनार्धन सिंह क्षेत्री , गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी,वन तथा वातावरण मन्त्री संजय कुमार यादव,प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन प्रसाद साह र आम संचार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा पनि उक्त अभ्यास कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ १९, सोमबार १४:१२

तपाईको प्रतिक्रिया !