डा. सीके राउतद्वारा कोशी नहर सडक मर्मतका लागि भारत सरकारसँग पहलको माग

डा. सीके राउतद्वारा कोशी नहर सडक मर्मतका लागि भारत सरकारसँग पहलको माग
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ १९, सोमबार ११:१७
डा. सीके राउतद्वारा कोशी नहर सडक मर्मतका लागि भारत सरकारसँग पहलको माग

जनकपुरधाम : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सीके राउतले कोशी पश्चिम नहरअन्तर्गतको सर्भिस रोड मर्मत तथा पुनर्निर्माणका लागि भारत सरकारसँग पत्राचार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई सिफारिस गर्न अनुरोध गरेका छन्।

ऊर्जा मन्त्रालयलाई गत ५ बैशाखमा पठाइएको पत्रमा सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका अध्यक्ष डा. राउतले सप्तरी जिल्लाको कोशी नदी अन्तर्गत भारत सरकारको कोशी परियोजनाअन्तर्गत निर्माण भएको पश्चिम नहरको सर्भिस रोड पूर्ण रूपमा जीर्ण भइसकेको उल्लेख गरेका छन्।

ADVERTISEMENT

उनका अनुसार सडक जीर्ण हुँदा सर्वसाधारणको आवतजावतमा कठिनाइ हुनुका साथै बालुवा र धूलोको कारण हावाहुरी चलेर स्थानीय बासिन्दा प्रभावित भएका छन्। यसले जनजीवनमा गम्भीर असर पारिरहेको भन्दै उनले सडकको तत्काल मर्मत तथा पुनर्निर्माण आवश्यक रहेको जनाएका छन्।

“सप्तरीको कोशी पश्चिम-नहरको सर्भिस रोडको अवस्थाबारे आज संचारमाध्यमा आएको समाचारप्रती ध्यानाकर्षण भएको छ,” डा. राउतले भनेका छन्, “यसको मरम्मत तथा पुनर्निर्माणका लागि भारत सरकारलाई सिफारिस गरिदिन ऊर्जा मन्त्रालयमा वैशाख ५ गते पत्र दर्ता गराइएको छ। प्राप्त जानकारीअनुसार सिफारिसको प्रक्रिया मन्त्रालयमा अगाडि बढिरहेको छ।”

डा. राउतले सम्बन्धित सडक खण्ड भारत सरकारकै कोशी परियोजनाअन्तर्गत पर्ने भएकाले नेपाल सरकारमार्फत औपचारिक पहल आवश्यक रहेको बताएका छन्। उनले सडक मर्मतका लागि यथाशीघ्र भारत सरकारसँग समन्वय गर्न आग्रह गरेका छन्।

 

प्रकाशित मिति: २०८२ जेष्ठ १९, सोमबार ११:१७

तपाईको प्रतिक्रिया !